
तपेन्द्र कुँवर धनगढी, ३ बैशाख । बैशाख ३१ गतेको निर्वाचन आउन २८ दिन बाँकी रहँदा अछाममा स्थानीय तहमा मतदाताबीच सम्भावित उम्मेदवारका बारेमा चर्चा चल्न थालेको छ ।
अछाममा रहेका चार नगरपालिका र ६ गाउँपालिका रहेका छन् । त्यसमध्येको सदरमुकाममा रहेको मंगलसेन नगरपालिकामा चुनावी चहलपहल हृवात्तै बढेको छ । मंगलसेन नगरपालिका सदरमुकाम र नयाँ बस्ती भएकाले पनि त्यहाँको चर्चा बढी छ । नगरपालिकाको मेयरका लागि अहिलेसम्म प्रमुख तीन पार्टीका १० जनाले जनाले दावी गरेका छन् ।
नेपाली काँग्रेसबाट आकांक्षी
मंगलसेन नगरपालिकामा मेयरको आकांक्षी धेरै देखिएका छन् । यसमध्ये नेपाली काँग्रेसबाट अन्य पार्टीको भन्दा धेरै जना मेयर पदको लागि दावेदार देखिएका छन् । काँग्रेसबाट चन्द्रप्रसाद ढुंगाना, नमबहादुर शाही, टोपबहादुर रावल र यज्ञराज ढुंगानाको चर्चा रहेको छ ।
उम्मेदवारमध्ये चन्द्रप्रसाद ढुंगाना जिल्ला उपसभापती तथा अछाम उद्योग वाणिज्य संघ अछामका अध्यक्ष हुन् । दुई पटक अछाम उद्योग वाणिज्य संघका अध्यक्ष रहेका ढुङगानाको बढी चर्चा रहेको छ । यस्तै पार्टी सचिव नमबहादुर शाही, पूर्व महाधिवेशन प्रतिनिधि टोपबहादुर रावल र प्रेस युनियनका पूर्व सचिव उद्यमी यज्ञराज ढुंगानाको पनि चर्चा चलेको छ ।
एमालेबाट आकांक्षी
२०५४ सालमा सम्पन्न भएको स्थानीय निर्वाचनमा साविकको मंगलसेन गाविसमा एमालेले जितेको थियो । एमालेका तर्फबाट यसपटक तीन जनाले मेयर पदका लागि उम्मेदवारको दावी गरेका छन् । जसमा पदम बोहरा, चन्द्र बोहरा, बलबहादुर सोडारी छन् ।
उम्मेदवारमध्ये पदम बोहरा साविकको मंगलसेन गाविसका पूर्व उपाध्यक्ष तथा पुराना नेता हुन् । सचिवालय सदस्य चन्द्र बोहरा विद्यार्थी फाँटका ईन्चार्ज तथा युवा नेताका रुपमा परिचित रहेका छन् । सोडारी साविकको कालागाउँ गाविसका पूर्व अध्यक्ष तथा सुकुम्वासी समस्या समाधान आयोग अछामका अध्यक्ष हुन् ।
माओबादी केन्द्रबाट आकांक्षी
माओवादी केन्द्रबाट पनि तीन जनाले नगरपालिकाको मेयरका लागि दाबी गर्दै आएका छन् । माओवादी केन्द्रबाट तपेन्द्र भण्डारी, लोगबहादुर बोगटी, भक्त बोगटीको चर्चा रहेको छ ।
माओवादी केन्द्रमा प्रवेश गरेका भण्डारी पहिले वैद्य माओवादीका केन्द्रीय सदस्य तथा अछाम र बाजुराका ईन्चार्ज थिए । यस्तै लोगबहादुर बोगटी, भक्त बोगटी महाधिवेशन प्रतिनिधि हुन् ।
के–के छन् नगरपालिकामा समस्या
मंगलसेन नगरपालिका शहर उन्मुख नगर हो । नेकपा एमाले पार्टी कार्यालयदेखि अछाम बहुमुखी क्याम्पससम्म फैलिएको यस नगरपालिकाको मुख्य समस्या साँघुरो सडक हो ।
यससँगै सदरमुकाममा रहेको खानेपानी र ढल व्यवस्थापनको समस्या छ । यस्तै मंगलसेन नगरपालिकासँग जोडिएका साविकका बस्ती गाविस र कुन्तीबन्डाली गाविसमा जनतालाई सेवा सुविधा पु¥याउन मुख्य चुनौति रहेको देखिन्छ ।
आगामी चुनावमा आफ्नो पार्टीले जितेमा यी समस्याको समाधान गर्ने एजेण्डा सबै पार्टीले प्रस्तुत गरिरहेका छन् । नेपाली काँग्रेसका प्रवक्ता वेदप्रकाश तिमिल्सैनाले कांग्रेसले मयरमा जितेमा कैलाशखोला, मंगलसेन हुँदै ठूलासैनको सडकको स्तरउन्नती गरिने बताए । जुपु वलिगाउँ हुँदै बस्तीसम्म सडक पुर्वाधारसँगै पर्यटन प्रवद्र्धनको लागि प्याराग्लाइडिङ व्यवसायमा सञ्चलान गर्ने काँग्रेसको योजना रहेको जानकारी दिए ।
त्यस्तै, नेकपा एमालेका सचिव यज्ञ बोगटीले आगामी चुनामा एमालेले जित्ने र मंगलसेन नगरपालिकाको विकासमा जोड दिइने बताए । उनले नगरपालिकालाई सुन्दर शहर बनाउनुका साथै खानेपानीको समस्या समाधान गरिने बताए । उनले मंगलसेनसँग जोडिएका साविकका विकट गाविसमा पशुपालन, आर्थिक अवस्था कमजोर रहेका वर्गको जीवनस्तर माथि उठाउनको लागि एमालले पहल गर्ने बताए ।
त्यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष झपट साउँदले वैद्य र विप्लब माओवादीका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश भइसकेकाले माओवादीको जित्ने आधार मंगलसेनमा बलियो रहेको बताए । उनले माओबादीले केन्द्रले जितेमा मंगलसैनमा सबैभन्दा बढी समस्या रहेको खानेपानी समस्या समाधान गरिने प्रतिबद्धता जनाए । त्यस्तै, उनले मंगलसेन बस्ती सडक, प्राविधिक शिक्षालय, स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानको लागि पहल गर्ने बताए ।
एमाले अछामका अध्यक्ष शेरबहादुर कुँवरले बामपन्थीहरुसंग समिकरण हुन सक्ने बताएका छन् । उनका अनुसार एमाले र माओबादी केन्द्रबीच यस विषयमा छलफल भइरहेको छ ।












प्रतिक्रिया