२० कार्तिक २०८३, शुक्रबार

२२ बर्षीया किशोरी ४ सन्तानकी आमा: ११ बर्षमा भागी बिबाह, १३ वर्षको उमेरमै सन्तान

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– भूमिराज जोशी

डोटी, २८ चैत । अशिक्षा अज्ञानताले गर्दा डोटीमा एक जना किशोरीले २२ बर्षको उमेरमा चार जना सन्तानलाई जन्म दिएकी छिन ।
डा. केआइसिं गाउपालिका २ (साबिकको तिखात्तर ५ जारीम भाडीकी रम्भा कामीले २२ बर्षको उमेरमा तीन छोरी र एक छोरा गरी चार सन्तानलार्ई जन्म दिएकी छन । बोगटान गाउपालिका (साबिकको सिमचौर गाबिस ६ झ्याम्तोला माइतीघर भएकी रम्भाले २०६१ सालमा भागेर बिबाह गरेकी थिइन ।

बुवाले अर्को बिबाह गरेपछि घरमा बिचल्ली भयो उनी सम्झिछिन, घरमा पाँच भाइ बहिनी थियौं । सबै भन्दा जेठी म नै हुँ । स्थानीय बिद्यालयमा कक्षा २ मा पढ्दै थिए । कलम कापी किन्ने पैसा समेत जुटाउन धौ धौ हुदै गयो । अनि घरायसी कामको बोझ बढ्दै गयो । त्यसैले त्यो कक्षामा असफल भए । अनि स्कुल नै छोड्नु पर्ने बाध्यता भयो । स्कुल छोडेर घरको काम गर्दै थिए, रम्भाले भनिन्, ‘घरमा फुपाजु नाता पर्ने एकजना सहित दुईजना आउनु भयो । घरमा के के कुरा भएथ्यो मलाई थाहा भएन । पछिल्लो दिन मलाई एक्लै बोलाउनु भयो । म पनि बोलाएको ठाउँमा आए ।’

त्यो बेलाको सम्झना गर्दै रम्भाले भनिन, ‘एउटा बिस्कुट र एउटा चाउचाउ पुरै दिन्छौ हिड साली मेरो घर जाऔं भन्नुभयो । म पनि एउटा पुरै चाउचाउ र बिस्कुट दिएपछि खुसी भएर आए । त्यो बेलासम्म बिबाह गर्ने हुँ भनेर थाहै थिएन । कसरी बिहे गरेछु पत्तै भएन । अनि तीन बर्ष पछि जेठी छोरी लगेर माइतीघर गयौं ।

श्रीमान गोमन्धोज कामी अहिले ३२ बर्षका भए । ‘पहिले पहिले भारत गएर पैसा कमाउथे । आज भोली घरमै बसेर काम गरिरहेका छन । पढेलेखेका छैनन् मजदुरी गरेर घरखर्च चलाइरहेका छन । कहिलेकाँही त जाँडरक्सी खाएर आउँछन त्यसपछि घरमा छोरा छोरीहरुको बिचल्ली हुन्छ । गाली बेज्जती गर्छन । घरमा सबैलाई कुटपिट गर्छन । त्यसरी नै चलिरहेको छ उनले भनिन् ।

बिबाह गरेको दुई बर्षमा जेठो छोरी सर्मिला कामी जन्मिइ । उ अहिले ९ बर्षकी भइ । यतैको बिद्यालयमा कक्षा २ मा पढ्छे रम्भाले भनिन । माइलो छोरा दुर्गाराम कामी ५ बर्षको भयो । साइली छोरी निर्मला कामी ३ बर्षकी भइ र कान्छी छोरी डम्मरा कामी डेढ बर्षकी भई ।
जेठी छोरी सर्मिला कामी घरपोत्नको लागि माटो ल्याउन गएको बेला अरु छोराछोरीलाई देखाउदै उनले भनिन्, ‘हाम्रो समाजमा प्राय सबै यस्तै छन । बढी जस्तो सबै भागेर, अरुको लहलहैमा लागेर बिबाह गर्छन । आफूले बिबाह गर्न चाहेको नचाहेको पनि थाहै हुदैन । मेरो उमेरको करिब करिब सबै दिदी बहिनीहरुले तीन/चार बच्चाहरु जन्माइसके ।’

बालबिबाह बिरुद्ध सरोकारबालाहरुले बिभिन्न नाराहरु जति बजाए पनि पछाडी परेका गाउँहरु भने बालबिबाह नै गर्ने गरेका छन । रम्भाले भनिन, ‘मलाई भने अहिलेसम्म बालबिबाह नगर्नु कसैले पनि भनेको छैन । कोइ पनि आएका छैनन मलाई र मेरो टोलमा बस्नेहरुलाई बालबिबाह रोक्ने भनेर जानकारी दिन ।’ सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले भनिन, ‘अब बालबिबाह गर्दाका बेफाइदा तपाईले भन्नु भयो । मेरो कहानी पनि अहिलेसम्म तपाईले भने जस्तै भएको छ ।’

अब त आफूले जाने बुझेको अरुलाई पनि भन्छु । यसको लागि तालिम दिने, सबैलाई बुझाउने कोही छैन सर ? त्यस्ता कोइ छन भने हाम्रो गाउँमा पठाइदिनु होला सर । सञ्चारकर्मीसंग यसरी पोखिन रम्भाले आफ्नो मनको कुरा ।