२० कार्तिक २०८३, शुक्रबार

कालिका नगरपालिकामा स्थानीय तहको चुनावी चर्चा बढ्दै

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– शिशिर सिंखडा

खोलेसिमल (कालिका), २८ चैत्र । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा पूर्वी चितवनको कालिका नगरपालिकामा चुनावी चहलपहल बढ्दै गएको छ । स्थानीय निर्वाचनको मिति बैशाख ३१ गतेलाई मध्यनजर गर्दै ठूला ३ दलहरु वडा भेला, बैठक, कमिटी गठन र छलफलमा जुटेका छन् ।

साविक जुटपानी, पदमपुर, शक्तिखोर र सिद्धि गा.वि.स. समेटी ११ वडा भएको यस नगरपालिकामा मेयर, उपमेयर र वडा अध्यक्ष तथा सदस्य बन्न नेपाली कांग्रेस र एमालेका स्थानीय नेताहरु दौडधुपमा छन् । उनीहरु आफ्ना नेता तथा कार्यकर्ताहरुसंग भेटघाट र सम्बन्ध सुधार गर्न लागिपरेका पनि छन् । माओवादी केन्द्रले भने आन्तरिक चुनावी रणनीतिमा लागेपनि बाहिरी माहोलमा देखिएका छैनन् ।

हरेक चोक र चिया पसलमा कुन पार्टीका को मेयर, उपमेयर बन्ने भन्ने चर्चा चल्ने गरेको छ । नगरमा मेयर, उपमेयर बन्ने आकाँक्षीहरुको नाम नेपाली कांग्रेस नगर समितिले संकलन गरिसकेको छ । कांग्रेसको तर्फबाट १२ जनाले मेयर पदको लागि इच्छा व्यक्त गरेको नेपाली कांग्रेस कालिका नगर सभापति राजु श्रेष्ठले जानकारी दिए ।

इच्छा व्यक्त गर्नेहरुमा कमल आचार्य, शिवराम के.सी., राजु श्रेष्ठ, लिला बहादुर गुरुङ्ग, सरोज गुरुङ्ग, कृष्ण कुमार श्रेष्ठ, काशीराम गिरी, इन्द्र प्रसाद अधिकारी, मिलन पाण्डे, शिव शर्मा पौडेल, महाश्रम शर्मा र अशोकराज वाग्ले रहेको श्रेष्ठले बताए । इच्छा व्यक्त गर्ने उम्मेदवारहरु मध्येबाट सर्वसम्मतको प्रयास थालिएको र २९ गते मंगलबारसम्ममा सहमतिको आधारमा ३ जनाको नाम क्षेत्रीय समितिमा पठाउने प्रयास भईरहेको समेत श्रेष्ठले बताए । १२ जना नै पार्टीका सक्षम कार्यकर्ता भएकाले पार्टीले अवसर दिए सबैले मेयर भएर काम गर्ने क्षमता राख्ने नगर सभापति श्रेष्ठले बताए ।

इच्छा व्यक्त गरेका उम्मेदवारहरु मध्ये कमल आचार्य पार्टीको पुरानो कार्यकर्ता रहेकोले उम्मेदवारी पाउनुपर्ने दावी गर्दै आउनुभएका छन् भने कुखुरा व्यवसायी समेत रहेका शिवराम के.सी. पनि मेयरको आफु बलियो उम्मेदवार रहेको बताउँदै आएका छन् । त्यसैगरी उपमेयरमा भने नेपाली कांग्रेसका तर्फबाट कमला पौडेल, निरुजा श्रेष्ठ र खिलिमा चौधरीले इच्छा व्यक्त गरेका छन् ।

त्यस्तै कालिका नगरपालिकाको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट मेयरमा ५ जनाको नाम चर्चामा रहेको छ । साविक शक्तिखोरका पूर्व गा.वि.स. अध्यक्ष गोपी श्रेष्ठ, साविक पदमपुरका पूर्व गा.वि.स. अध्यक्ष जयचन्द्र प्रसाद चौधरी र युवा नेता एवम् नेकपा एमालेका नगर प्रतिनिधि समेत रहेका बिनोद रेग्मी यसैगरी नगर सचिवालय सदस्य केशव लामा र साविक पदमपुरका पूर्व गा.वि.स. उपाध्यक्ष टिकाराज रिजाल पनि मेयर पदका आकांक्षी देखिएका छन् । युवाहरु माझ लोकप्रिय बिनोद रेग्मी, पुराना नेता एवम् पूर्व गा.वि.स. अध्यक्षद्वय श्रेष्ठ र चौधरी तथा लामा र रिजाल कसले उम्मेदवारी पाउने भन्ने बारे एमाले कार्यकर्ता माझ बहस चलेको छ ।

यहि बैशाख २ गतेसम्म नगर कमिटीले उम्मेदवारको नाम छनौट गरी पठाउनुपर्ने भएकोले छलफलबाट सर्वसम्मतीको आधारमा नाम पठाउन पहल भईरहेको नेकपा एमाले कालिका नगर कमिटीका संयोजक भिष्म प्रसाद खनालले जानकारी दिए । नेकपा एमालेका तर्फबाट उपमेयरमा बिमला लामा, कमला भट्टराई, कविता लामिछाने र आशा वाईबाको नाम चर्चामा आएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट मेयर पदमा रामध्वज डल्लाकोटी (विवेक) को नाम चर्चामा रहेको छ । चर्चाकै क्रममा सुदर्शन अधिकारी र रामचन्द्र पौडेल पनि देखिएका छन् । यद्यपी डल्लाकोटीले इच्छा व्यक्त गरेमा अन्य उम्मेदवारले सर्वसम्मती व्यक्त गर्न सक्ने समेत चर्चा रहेको छ । त्यस्तै गरी उपमेयरमा मञ्जु सिंखडा, दुर्गा रायमाझी, प्रमिता रिजाल, सरिता लामा र कविता न्यौपानेको नगर क्षेत्रमा चर्चा रहेको छ ।

स्थानीय तहको निर्वाचनको सन्दर्भमा एमाओवादी केन्द्र अहिले वडा भेला र कमिटी गठनमा व्यस्त रहेको एमाओवादी केन्द्रका कालिका नगर प्रतिनिधि रामध्वज डल्लाकोटीले बताए । आगामी बैशाख २ र ३ गते वडा–वडामा छलफल गरी उम्मेदवारको लागि नाम संकलन गरेपछि मात्र छनोट प्रक्रिया अगाडि बढ्ने भएकोले अहिले यसै भन्न नसकिने उनले बताए । पार्टीको निर्देशन अनुसार सबै नेता कार्यकर्ता अगाडि बढ्ने भएकोले सर्वसम्मतीबाटै उम्मेदवार छनोट गरिने समेत उनले बताए ।

नगरभित्रका राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल परिवार दल लगायतका साना दलको भने निर्वाचित लक्षित कार्यक्रम र चर्चा परिचर्चा भएको पाइएको छैन ।