– कृष्ण ओझा
पाँचथर, २३ फागुन । पाँचथर र तेह्रथुम हुँदै बग्ने तमोर नदीमा पुल बन्दा यात्रुहरुलाई सहज भएपनि नदी किनारका माझी समुदाय संकटमा परेका छन् ।
नाउ चलाउने पुर्ख्यौली पेशा लोप भएको छ । पुल बनेपछि यात्रुहरुले पुलबाटै आवातजावत गर्ने गरेकाले नाउको आवश्यकता नहुँदा लोप भएको हो ।
अहिले तमोर नदि किनारमा एउटा पनि नाउ छैन । कतिपयले भने नाउ चिरेर दाउरा बालेका छन् । केही वर्ष अघिसम्म तमोर नदिको विभिन्न ठाउँमा दर्जनौँ नाउ थिए ।
नक्कलेघाट, माझिटार, सिम्रा, हाक्पाराघाट, भैँसी र अँधेरी खोला क्षेत्रमा माझीहरु नाउ चलाउने गर्थे । तर पुल बन्दा नाउ पुल बन्दा प्रयोग विहिन भएको हो ।
माझी समुदायका युवा राम माझीले पुलको विकासले माझी समुदायको बाँच्ने आधार नाउ नै लोप भएकोमा दुःखेसो व्यक्त गरे ।
नाउ नहुँदा माझी समुदायको आर्थिक मात्रै नभई सांस्कृतिक र सामाजिक जीवनमै असर पुगेको उनको भनाई छ ।
‘नाउ परम्परागत प्रविधि हो । हाम्रो पुरख्यौली पेशाजन्य हतियार हो’ उनले थपे, ‘पुलको विकासले नाउ प्रयोग विहिन भयो ।’
माझीहरुलाई खोलाखुशी पुजामा नाउ चाहिन्छ । वर्षमा एक पटक गरिने पुजामा नाउबाट वर्षभरी नै राम्रो आम्दानी लिन सकियोस ,खोला र नदिनाला जिविकोपार्जनको आधार भएकोले फलिफाप होस र दसा नलागोस भनेर पुकारिने गरिन्छ ।
जुन् पुजामा नाउ चाहिने गरेको माझी सँघका पाँचथर अध्यक्ष जसबहादुर माझीले बताए । तर नाउ नै नभएपछि नमूना नाउ बनाएर भएपनि पुजाआजा गर्ने चलन रहेको बताए ।
उनले नाउबाट खोला तार्ने र माछा मारी बेच्ने पेशा संकटमा परेको भन्दै चिन्ता व्यक्त गरे । ‘पुर्खाको विर्ता गुम्यो’ उनले भने, ‘पुलले गर्दा विर्ता त गुम्यो गुम्यो हाम्रो जीविकोपार्जनको आधार नै गुम्यो ।
उनले पेशा संरक्षणका लागि सरकारले पहलकदमी गर्नु पर्नेमा जोड दिए । तमोर नदि किनारमा परापूर्वकाल देखिनै करिव डेढ सयको संख्यामा माझी समुदाय बसोबास गर्दै आएका छन् ।
उनीहरु सवै भूमिहिन् हुन् । साहु महाजनको खेत र बारी कमाएर खाँदै आएका छन् । जिल्लाका सबै पार्टीका नेताहरु निर्वाचन ताका भोटका लागी भोट माग्न र किन्न ओइरो लागे पनी आस्वासन दिन भने नछाडेको गुनासो सुन्न पाइन्छ ।













प्रतिक्रिया