२८ आश्विन २०८३, बुधबार

ढोरपाटन सिकार आरक्षमा मोटर पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhorpatan

बागलुङ । देशकै एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा यातायातको सुविधा पुगेको छ ।

सदरमुकामदेखि ४५ कोष पश्चिममा अवस्थित ढोरपाटन उपत्यकामा मोटर पुगेपछि स्थानीयवासी खुसी भएका छन् ।

सदरमुकामदेखि चार दिनको पैदल दुरीमा पुग्न सकिने ढोरपाटन क्षेत्रमा अब एकदिनको मोटरयात्राबाट पुग्न सकिने जनाइएको छ । सदरमुकामदेखि बोवाङसम्म यसअघि नै सडक सञ्जाल जोडिए पनि ढोरपाटन उपत्यकासम्म पुग्न सकेको थिएन ।

शुक्रबार जिल्लाको पश्चिम व्यापारिक केन्द्र बुर्तिवाङदेखि अधिकारीचौर, बोवाङ, देउरालीखोंच हुँदै ढोरपाटन उपत्यकाको उत्तरगङ्गा तथा सानी भेरी नदी पार गरेको जिपका चालकलाई स्थानीयवासीले फूलमालाले स्वागत गरेका थिए ।

करिव पाँच वर्षयता बुर्तिबाङ हुँदै अधिकारीचौर, बोबाङ, ढोरपाटनसम्मकोसडक निर्माणमा सडक डिभिजन कार्यालय, जिल्ला विकास समिति तथा स्थानीय गाउँ विकास समितिको बजेट खर्च गरिएको थियो ।

म्याग्दी, रुकुम र बागलुङ गरी तीन जिल्लाको एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको ढोरपाटन सिकार आरक्ष क्षेत्रलाई उच्च भागमा रहेको उपत्यकाको रुपमा समेत चिनिदै आएको छ । बर्सेनि दुई याममा सञ्चालन हुने सिकारका लागि विदेशी पर्यटक यसअघि हेलिकप्टरबाट मात्र पुग्ने गर्दथे भने अब मोटर चढेरै आरक्ष पुग्न सक्नेछन् ।

देशकै एकमात्र सिकार आरक्ष भएको क्षेत्र भएका कारण पनि ढोरपाटन क्षेत्र आगन्तुकका लागि आर्कषण बन्ने गरेको छ । भौगोलिक, प्राकृतिक, जैविक र सांस्कृतिक हिसावले समेत मनोरम उपत्यकाको रुपमा परिचित ढोरपाटन सिकार खेल्न आउने विदेशी सिकारीले बर्सेनि लाखौँ रुपैयाँ राजस्व बुझाउने गरेका छन् ।