काठमाडौं, ८ चैत । अमेरिकाले सम्भावित जोखिम हटाउन मध्यपूर्व र उत्तर अफ्रिकाका ८ देशका विभिन्न १० वटा एयरपोर्टबाट ल्यापटप, क्यामेरा, ट्याबलेट, भिडियो गेम जस्ता विद्युतीय उपकरण अमेरिका लैजान प्रतिबन्ध लगाएको छ ।
बिबिसीका अनुसार अमेरिकाले जोर्डनको क्विन अलिया इन्टरनेशनल एयरपोर्ट, इजिप्टको कायरो इन्टरनेशनल एयरपोर्ट, टर्कीको अतातुर्क एयरपोर्ट, साउदी अरेबियाको जेद्दास्थित किङ अबदुलाजिज इन्टरनेशनल एयरपोर्ट र रियादस्थित किङ खालिद इन्टरनेशनल एयरपोर्ट, कुवेत इन्टरनेशनल एयरपोर्ट, मोरक्कोको मोहम्मद भि इन्टरनेशनल एयरपोर्ट, कतारको दोहास्थित हमाद इन्टरनेशनल एयरपोर्ट, युएईको दुबई इन्टरनेशनल र अबुधावी इन्टरनेशनल एयरपोर्टबाट यी सामान अमेरिका लैजान प्रतिबन्ध लगाएको छ ।
अमेरिकाले तोकेका यी १० एयरपोर्टमध्ये केही एयरपोर्ट नेपालीले अमेरिका जान ट्रान्जिटको रुपमा समेत प्रयोग गर्ने छन् । यसकारण ती एयरपोर्ट हुँदै अमेरिका जाने नेपालीहरु समेत यो प्रतिबन्धको मारमा पर्नेछन् ।
तर, यो निषेध कहिलेसम्मका लागि हो वा प्रतिबन्धको अन्त्य कहिले हुने भन्ने बारेमा कुनै जानकारी दिएको छैन । स्रोतका अनुसार गुप्तचर निकायको सूचनाका आधारमा सम्भावित जोखिम हटाउन अमेरिकाले यस्तो निर्णय गरेको हो । तर, मोबाइल सेटमा भने प्रतिबन्ध लागेको छैन ।
इस्लामिक आतंकवादी हमलाहरु हुन सक्ने खतराका कारण अमेरिकाले यस्तो निर्णय गरेको हुन सक्ने विश्लेषण भइरहेको छ । प्रतिबन्धका विषयमा थाहा नपाएर यात्रुहरुले दुःख नपाउन् भन्नाका लागि घोषणाको केही सातासम्म लचकता भने अपनाइने जनाइएको छ ।














प्रतिक्रिया