काठमाडौं, १ चैत । सद्भावना पार्टीका अध्यक्ष मधेसी मोर्चाका नेता राजेन्द्र महतोले एमालेका अध्यक्ष केपी ओलीले मधेस केन्द्रित दलका नेताहरूविरुद्ध दिएको अभिव्यक्तिको कडा रुपमा प्रतिवाद गरेका छन् ।
नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै अध्यक्ष महताले एमाले अहिले आएर बोली फेरेको आरोप लगाए ।
उनले भने, ‘केपी ओली र कमल थापाले अहिले आएर बोली फेरेका छन् । ओली र थापा दुई चरित्र भएका व्यक्ति हुन् । यस्तो अवस्थाले कसरी देश बन्छ ?’
‘प्रधानमन्त्री हुँदा केपी ओलीले नै संविधान संशोधनको अहिलेको विधेयकलाई अगाडि सारेका थिए’, महताले भने, ‘कमल थापालाई अगाडि बढाएर केपी ओली नै यही विषय संशोधन गर्न खोजेका थिए । अहिले आएर कहाँबाट आयो राष्ट्रवादको कुरा ? मैले बुझेको छैन ।’
उनले भने, ‘केपी ओली गैरराजनीतिक चरित्र भएको नेता हुन् । ओलीको राष्ट्रघात र राष्ट्रवादको कुराले मुलुकलाई कहाँ पुगाउँछ ?’ उनले एमालेका नेताहरूद्वारा मधेसी नेताहरूलाई लगाएका सबै आरोप सरासर झुठ रहेको बताए ।
मधेस केन्द्रित दलका नेताहरूले भने अनुसार संविधान संशोधनको विधेयक पारित गर्न नदिने र विधेयकलाई राष्ट्रघाती भनेर एमाले अध्यक्ष ओलीसहितका शीर्ष नेताहरूले विरोध गरिरहेका बेला सद्भावना पार्टीका अध्यक्ष महताले आफूहरूको बचाउ गरेका हुन् ।












प्रतिक्रिया