काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरिएका दानबहादुर कार्कीका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छुट्टै कार्यकक्ष तयार पारिएको छ। तर, कार्की भने नयाँ जिम्मेवारी सम्हाल्नुभन्दा आफूलाई पदबाट हटाउने सरकारी निर्णयविरुद्ध अदालतबाट आउने आदेशको प्रतीक्षामा छन्।
प्रधानमन्त्री कार्यालयको कोठा नम्बर २०७ लाई कार्कीको कार्यकक्षका रूपमा व्यवस्थापन गरिएको छ। यसअघि उक्त कोठा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुभाष शर्माले प्रयोग गर्दै आएका थिए। कोठाको प्रवेशद्वारमा ‘सुरक्षा सल्लाहकार, दानबहादुर कार्की’ लेखिएको नामप्लेटसमेत राखिएको छ।
कार्यालयभित्र बैठकका लागि ठूलो टेबल, कुर्सी र सोफासहित आवश्यक व्यवस्थापन गरिएको छ। अट्याच बाथरुमसमेत रहेको उक्त कोठा प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका कर्मचारीहरूको कार्यकक्षसँगै छ।
सरकारले बुधबार मात्रै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार पद सिर्जना गरी कार्कीलाई उक्त जिम्मेवारी दिएको थियो। तर, आफूलाई आईजीपीबाट हटाउने निर्णय गैरकानुनी भएको दाबी गर्दै कार्की सर्वोच्च अदालत पुगेका छन्।
उनले बिहीबार वारेसमार्फत सर्वोच्चमा रिट पेस गरेका छन्। रिट दर्ता गर्ने वा नगर्नेबारे अदालत प्रशासनले अध्ययन गरिरहेको छ। रिट दर्ता भए पनि प्रारम्भिक सुनुवाइ तिहारपछि मात्रै हुने सम्भावना छ।
प्रधानमन्त्रीसँग सम्बन्धमा आएको खटपटपछि कार्कीलाई जिम्मेवारीबाट हटाइएको चर्चा भइरहेका बेला सरकारले नयाँ पद सिर्जना गरेर उनलाई सुरक्षा सल्लाहकार बनाएको हो।
कार्कीले भने अदालतबाट मुद्दाको टुंगो नलागेसम्म प्रधानमन्त्री कार्यालयमा हाजिर नहुने अडान लिएका छन्। अदालतबाट आफ्नो पक्षमा फैसला नआए पदबाट राजीनामा दिने उनको तयारी रहेको बताइएको छ।












प्रतिक्रिया