काठमाडौं । नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीको अध्यक्षमा प्रभुराम थापा निर्विरोध निर्वाचित भएका छन् ।
दोस्रो अन्तराष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि बिहीबार भएको निर्वाचन प्रक्रियामा अध्यक्ष पदमा थापाको मात्रै एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । महिला उपसचिवमा पनि ज्योति शर्माको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएकी छन् ।
यसैगरी, उपाध्यक्ष पदमा टकबहादुर गुरुङले ११३ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी चानक पोखरेलले ७३ मत प्राप्त गरे । सचिवमा रामशरण सिम्खडा ९८ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी सन्तोष भट्टराईले ८५ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपसचिव पदमा कृष्णप्रसाद लामिछाने १२९ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी सुरेश केसीले ५८ मत प्राप्त गरे ।
संगठनको नयाँ नेतृत्वले संगठनलाई थप गतिशील, व्यवस्थित र परिणाममुखी बनाउँदै प्रवासमा रहेका नेपालीका मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने बताइएको छ ।












प्रतिक्रिया