२० कार्तिक २०८३, शुक्रबार

साना बालबालिकासँग भुइँमा सुतेकी यी महिला को हुन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १ चैत् । पखेरामा बनेको सानो झुप्रोको माइती घर । अँगेनाछेउमा मैलो चोलो र फरियामा सुतेकी छिन्, ताराकुमारी चेपाङ । झिंगा भन्किरहेको छ । झिंगा आउँछ भनेर हातले नाकमुख छोपेकी छन् ।

दुई बच्चा अर्ध निद्रामा रहेकी उनको दुईतिर बसेर स्तनपान गर्दै छन् । सानो बच्चालाई ताराकुमारीले हातमा च्यापेकी छिन् भने अर्को बच्चा त्यहीँ निदाएको छ । सरसफाइको अभावमा रहेको बच्चाको कपडा मैला छन्, अनुहारमासमेत फोहोर छ ।

२३ फागुन सोमबार ताराकुमारी यस्तै अवस्थामा भेटिइन् । यो अवस्थाले नै उनको जीवनको व्यथा कहानी बोलिरहेको छ । तस्बिर खिचेपछि उनको अर्धनिद्रा भंग भयो ।

‘कति वर्षको हुनु भो दिदी ?’ कुरा सुरु गरें । ‘खै, केथा !’ ताराकुमारीले छोटो उत्तर दिइन् । ‘क्या रे बाउ, मो कति भयो ?’ बुबापट्टि फर्किएर सोधिन् । ‘खै ३०–३५ भो कि ?’ बाहिर भिरालो बारीमा टुक्रुक्क बसेरै बुबाले भने ।

उनको भनाइमा परिवार पाल्ने एकपाटो जमिन छ । यसपालि उब्जनी भएको अन्न सबै सकिसक्यो । ‘यो पालिको मकै पोलेर खान पनि पुगेन,’ ताराकुमारीले भनिन्, ‘एक पाटाको के गर्ने सर, भुराले पोलेर खाइहाल्छ, कति पुगोस् त ! अहिले गाउँमा पर्म ग-यो, देऊ न होइ भन्यो, एकएक पाथी माग्यो, खायो ।’

छोराले कमाउलान् नि त भन्ने प्रश्नमा तिनले भनिन्, ‘छोराले के कमाउँछ रु त्यही आफ्नो ज्यान पाल्छ । नुन तेल ल्याउँछ, त्यही हो ।’ परिवारमा कसैले पढेका छैनन् । साना बच्चा पनि पढ्ने खालका देखिंँदैनन् । पढाइप्रति चेतना नै छैन । ‘कोहीले नि परेन सर, के गर्ने अब रु’ तिनले भनिन् । उनको घरमा अहिले खानका लागि अन्न छैन । खडेरीका बेला चेपाङ गाउँ सुक्खा छ । ‘एकएक ठाउँमा साहु हुन्छ नि सर † भोलि हामी काम गरेर तिर्छौं भनेर एकएक पाथी दुईदुई पाथी मागेर खाने,’ ताराकुमारीले भेद खोलिन् ।

मागेर पनि नपाइने अवस्थामा चेपाङ जंगलमा गिट्ठा र भ्याकुर खोजेर भोक टार्छन् । यति कुरा गरिरहँदा सहयोगीले दिएको कपडा छान्दै बच्चा झगडा गरिरहेका थिए । ताराकुमारीका तीन छोरा र तीन छोरी छन् । चार बच्चा चाहिँ पछिल्लो पटक बर्सेनिका हुन् । यति कुरो चाहिंँ उनलाई थाहा छ । वर्ष कसैको थाहा छैन । न त आफ्नो वर्ष नै थाहा छ, न त बिहे गरेको मिति नै । दुईजना छोरा अलि ठूला छन् । जेठाको नाम राजु र माइलाको नाम माइलो नै । उनीहरू चितवनको रत्ननगरस्थित पिठुवामा मजदुरी गर्न गएको ताराकुमारीले बताइन् ।

अन्य चारजना बर्सेनिका भने उनीसँगै छन् । ‘कान्छाको नाम कान्छैै हो, जेठी सञ्चमाया, यो सानी कान्छी, अनि यो कान्छी,’ तिनले औंल्याउँदै भनिन् । छोराछोरी कति वर्षका भए भन्ने उनलाई हेक्का छैन । श्रीमान्को नाम रामप्रसाद चेपाङ ।

चितवनको विकट पहाडी गाउँ सिद्धि गाविसको वडा–९, छेरवाङमा उनको घर छ । चितवनको सदरमुकाम भरतपुरबाट पूर्व पर्छ, विकट गाउँ सिद्धि । चेपाङको बसोबास बढी छ । भरतपुरबाट झन्डै ३० किलोमिटरको सवारी यात्रामा शक्तिखोरको दोगरा पुगिन्छ । त्यहाँबाट करिब तीन घण्टाको उकालो चढेर उनको घर पुगिन्छ ।