२८ आश्विन २०८३, बुधबार

कुन-कुन तारे होटल पर्दैछन् कारबाहीमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Solti-hotel

काठमाडौ । वषौंदेखि करको दायरामा नआएका १२ वटा तारे होटेललाई महानगरपालिकाले कारबाही गर्ने भएको छ ।

पटकपटक सूचना जारी गरी करको दायरामा आउन आग्रह गर्दा पनि कुनै वास्ता नगरेकाले ती व्यवसायीको चलअचल सम्पत्ति हस्तान्तरण रोक्का गर्ने निर्णय गरेको महानगरपालिकाले जानकारी दिएको छ ।

महानगरपालिकाका राजस्व महाशाखा प्रमुख महेश काफ्लेले करको दायरामा नआउने व्यवसायीलाई करको दायरामा ल्याउन स्वायत्तः शासन ऐन २०५५ अनुसार होटेलको चलअचल सम्पत्ति रोक्न सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको बताउनुभयो ।

उहाँका अनुसार महानगरपालिकाले सम्पत्ति हस्तान्तरण रोक्न भूमिसुधार तथा व्यवस्था मन्त्रालय, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, पर्यटन उद्योग महाशाखा र स्थानीय निकायलाई पत्राचार गर्ने तयारी गरेको छ ।

महानगरपालिकाको तथ्यांकअनुसार मल्ल, रोयलसिंघे, सोल्टी, हायात रिजेन्सी, र्‍याडिसन, एभरेस्ट, शंकर, माउन्टेन, ल्यान्डमार्क, मार्कोपोलो, याक एण्ड यति र सांग्रीला होटेल ०५६/०५७ देखि नै महानगरपालिकाको करको दायरामा आएका छैनन् ।

महाशाखा प्रमुख काफ्लेकाअनुसार करको दायरामा ल्याउनका लागि यहि वैशाख ९ गते पहिलो पटक सार्वजनिक रुपमा होटेलको नाम उल्लेख गरिएको थियो भने १८ गतेदेखि एक हप्ताका लागि सार्वजनिक सेवाअन्तर्गत फोहोर सङ्कलन रोक्का गरेको थियो ।

त्यसो गर्दा पनि कर तिर्न नमानेपछि होटेल व्यवसायीको सम्पत्ति हस्तान्तरण रोक्का गर्ने निर्णय भएको महाशाखा प्रमुख काफ्लेले जानकारी दिनुभयो ।