१३ कार्तिक २०८३, शुक्रबार

महानगरीय प्रहरीलाई ३७ वर्षपछि पाँच रोपनी जग्गा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । काठमाडौं महानगरपालिका वडा नम्बर १४ स्थित कालीमाटीमा रहेको पाँच रोपनी चार आना जग्गा करिब ३७ वर्षपछि महानगरीय प्रहरी वृत्त कालीमाटीको नाममा आएको छ ।

सो जग्गा २०३८ सालमा प्रहरी चौकी स्थापनाका लागि सरकारले नेपाल प्रहरीलाई दिएको थियो तर जग्गा मोहीले विवाद सिर्जना गरेपछि सोही जग्गा अस्थायी रूपमा प्रयोग गरी प्रहरी कार्यालय सञ्चालन हुँदै आएको थियो । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

कालीमाटी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज अधिकारीले हालको प्रहरी कार्यालय अस्थायी जग्गामा रहेको जानकारी पाएपछि महिना दिन लामो प्रयासपछि जग्गा कार्यालयको नाममा नामसारी गरिएको जानकारी दिनुभयो ।

‘सरकारले जग्गा प्रहरी कार्यालयको प्रयोजनका लागि दिए पनि कागजपत्र नहुँदा नयाँ भवन बनाउनसमेत समस्या थियो’, उहाँले भन्नुभयो, ‘अब त लालपुर्जासमेत प्रहरी कार्यालयको नाममा बनाइसकिएको छ ।’

सो कार्यका लागि जग्गा मोहीले समेत साथ दिएको उहाँले बताउनुभयो ।
पाँच रोपनी चार आना क्षेत्रफल रहेको महानगरीय प्रहरी वृत्त कालीमाटी परिसरमा काठमाडौँ जिल्ला महिला सेल र महानगरीय ट्राफिक प्रहरी वृत्तलगायत तीनवटा कार्यालय सञ्चालनमा छन् ।

प्रहरी शिविर बिट टेकूबाट कालीमाटीमा स्थानान्तरण भएको प्रहरी चौकीको प्रयोगका लागि सो जग्गा नेपाल सरकारले ३७ वर्षअघि प्रहरीलाई दिने निर्णय गरेको थियो तर त्यस निर्णयविरुद्ध मोही सर्वोच्च अदालतसम्म पुगेका थिए ।

अदालतले जमिनको भोगाधिकार प्रहरी कार्यालयकै पक्षमा गरे पनि प्रहरी र मोहीबीचको आपसी विवाद बढ्दै गएपछि बेवास्ता गरिएको थियो । डीएसपी अधिकारीले भन्नुभयो, ‘यसअघिसम्म वृत्त आफ्नो नामको लालपुर्जा नभएको जग्गाबाट सञ्चालन हुँदै आएको थियो ।’

बल्खुस्थित प्रहरी प्रभाग सडक विस्तारका क्रममा भत्काइएपछि त्रिभुवन विश्वविद्यालयको सहयोगमा एक रोपनी जग्गामा नयाँ भवन निर्माण कार्य भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।