१३ कार्तिक २०८३, शुक्रबार

पत्रकार पक्राउ प्रकरणमा काउन्सिलको गम्भीर आपत्ति, अवस्था सार्वजनिक गर्न माग

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कार्यकक्षमै पुगेर पत्रकारमाथि धरपकड गरिएको घटनामा प्रेस काउन्सिल नेपालले गम्भीर आपत्ति जनाएको छ । काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले विज्ञप्ति जारी गर्दै घटनाबारे ध्यानाकर्षण भएको जनाएका हुन् ।

सञ्चारमाध्यमको कार्यालयभित्रै पुगेर पत्रकारलाई नियन्त्रणमा लिएको घटनालाई प्रेस काउन्सिल नेपालले प्रेस स्वतन्त्रतामाथिको गम्भीर चुनौतीका रूपमा लिएको छ। काउन्सिलले पक्राउको कारण र नियन्त्रणमा रहेका पत्रकारको अवस्थाबारे तत्काल जानकारी दिन सरकार तथा प्रहरी प्रशासनसँग माग गरेको छ।

काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले शुक्रबार जारी गरेको विज्ञप्तिमा पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको र अदालतको अनुमति नलिइएको विषयप्रति आपत्ति जनाइएको छ। लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि पत्रकारलाई यसरी नियन्त्रणमा लिनुले उनीहरूको व्यावसायिक सुरक्षा र प्रेस स्वतन्त्रतामाथि प्रश्न उठाएको काउन्सिलको भनाइ छ।

समाचार सामग्रीप्रति असहमति भए वा पत्रकार आचारसंहिता उल्लंघन भएको गुनासो रहे त्यसको छानबिन गर्ने अधिकार प्रेस काउन्सिलसँग रहेको पनि विज्ञप्तिमा स्मरण गराइएको छ। समाचारकै विषयलाई लिएर प्रहरी परिचालन गर्नुभन्दा काउन्सिलको कानुनी प्रक्रिया र स्थापित संयन्त्रबाट विवाद समाधान गर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ।

काउन्सिलले नियन्त्रणमा लिइएका पत्रकारको वर्तमान अवस्था र पक्राउको कानुनी आधार सार्वजनिक गर्न माग गरेको छ। कानुनसम्मत आधारबिना नियन्त्रणमा राखिएको भए तत्काल रिहा गर्नसमेत आग्रह गरिएको छ।

यसैबीच, काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्न र पत्रकार आचारसंहिताको पालना गर्न ध्यानाकर्षण गराएको छ। प्रेस स्वतन्त्रताको रक्षा र जिम्मेवार पत्रकारिताको प्रवर्द्धनमा आफ्नो भूमिका निरन्तर रहने काउन्सिलले जनाएको छ।