२८ आश्विन २०८३, बुधबार

यस्तो छ पर्वतमा बिजुलीको हालत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bijuli-poll

पर्वत । जिल्लाको गाउँगाउँमा विद्युतीकरणका लागि प्रयोग भएका सात हजारभन्दा बढी काठका पोल जोखिमपूर्ण अवस्थामा रहेको पाइएको छ ।

सामुदायिक विद्युतीकरणका लागि गाडिएका सात हजार २०० काठका पोल तत्काल परिर्वतन नगरे ढल्ने अवस्थामा पुगेका हुन् । जोखिमपूर्ण अवस्थामा रहेका पोल परिर्वतन नगर्दा मानवीय र भौतिक क्षतिसमेत हुने खतरा रहेको छ ।

जिल्लाका ५५ गाविसमध्ये २९ गाविसमा सामुदायिक विद्युतीकरणमार्फत बिजुली बालिएको छ । त्यसमध्ये २५ भन्दा बढी गाविसमा काठका पोल प्रयोग गरिएको छ । १० वर्षको ग्यारेन्टीसहित सम्झौता गरिएका काठका पोल दुई वर्षमा नै कुहिएर ढल्न थालेका छन् ।

सामुदायिक विद्युतीकरणमा प्रयोग भएका ९० प्रतिशत काठका पोल परिर्वतन गर्नुपर्ने अवस्था रहेको सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घका केन्द्रीय सदस्य शिव शर्मा पौडेलले बताउनुभयो ।

सबै गाविसमा प्रयोग भएका काठका पोल प्रतिस्थापन गरी फलामे पोल प्रयोग गर्नुपर्ने अवस्था रहेको उपभोक्ता महासंघ पर्वतका अध्यक्ष मित्रलाल बस्यालले बताउनुभयो । “पहिले छिटो बिजुली पाल्ने रहरले काठ र फलामका पोलको मतलब गरिएन” महासंघ पर्वतले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बस्यालले भन्नुभयो “अहिले तार नटाग्दै पोल ढलेपछि समस्या नै समस्या थपिएको छ ।”

सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ पर्वतले आयोजना गरेको सामुदायिक विद्युतीकरण क्षेत्रका समस्या विषयक अन्तक्र्रियामा सहभागी अधिकांश सामुदायिक विद्युत् उपभोक्ता समितिका पदाधिकारीले काठका पोल कुहिएकाले जोखिम बढेको गुनासो गरेका थिए ।

कुर्घा गाविसमा २०६५ सालमा विद्युतीकरण गरिएपनि दुई वर्ष नपुग्दै पोल कुहिएर ढलेका कारण बाँसको पोल बनाएर बिजुली बालिएको समितिका अध्यक्ष अम्मरबहादुर क्षेत्रीले बताउनुभयो । “अहिलेसम्म ९० प्रतिशत काठका पोल कामै नलाग्ने भएका छन्” उहाँले भन्नुभयो “बजेट अभावमा मर्मत गर्न सकिएको छैन” । उत्तरको लेकफाँट गाविसमा पनि २०६२ बाट विद्युतीकरणका लागि प्रक्रिया सुरु भए पनि तीन वर्ष पहिले मात्रै बिजुली बलेको छ ।

अहिले सबै पोल परिर्वतन गर्नुपर्ने अवस्था आएको अध्यक्ष टीकाराम सुवेदीले बताउनुभयो । “हावाहुरी आउँदा एउटा पोल ढलेमा ८, १० वटा पोल ढल्छन्” उहाँले भन्नुभयो “पोल जीर्ण हुँदा मानवीय र भौतिक क्षति हुने डरले निद्रा पनि लाग्दैन ।”

पर्वत जिल्लामा गएको वर्षमात्रै करेन्ट लागेर १० जनाभन्दा बढीको ज्यान गएको छ । जीर्ण पोल ढल्दा करेन्ट लागेर थप मानवीय क्षति हुने सम्भावना भएकाले पनि काठका पोलका ठाउँमा फलामे पोल प्रयोग गर्नुपर्ने अवस्था रहेको भनाइ उपभोक्ता समितिको छ ।

जिल्ला विकास समिति पर्वतमा आउने विद्युत् रोयल्टीको रकममध्ये केही रकमबाट पोल खरिद गरी वितरण गरिँदै आएको छ । एउटा गाविसलाई जम्मा सात वटाका दरमा वितरण गर्दा हात्तीको मुखमा जिरा भएको छ । विद्युत् रोयल्टीको रकमबाट नियमित रुपमा पोल खरिद गरी वितरण गर्ने र गाउँ विकास समितिले समेत पोल खरिदका लागि बजेट छुट्टाउन सकेमा समस्या नरहने भनाइ पनि उनीहरूको थियो ।

कार्यक्रममा सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघका महासचिव नारायण ज्ञवाली काठका पोलको गुणस्तर नियन्त्रण गर्ने निकायको बेवास्ताका कारण यस्तो विकराल समस्या आएको बताउनुहुन्छ । “काठका पोलको गुणस्तर नियन्त्रण गर्ने निकाय विद्युत् प्राधिकरण हो” उहाँले भन्नुभयो “प्राधिकरण उपभोक्ताभन्दा ठेकेदारमैत्री भएकाले कम गुणस्तरका पोल राख्दा पनि कारबाही हुन सकेको छैन” दश वर्षको ग्यारेन्टीसहित ठेक्का सम्झौता भएकाले ठेकेदारबाट पोल प्रतिस्थापन गराउन पहल हुनुपर्ने उहाँको भनाइ छ ।