४ मंसिर २०८३, शुक्रबार

दुर्गा तिवारीका हत्यारा अझै पत्ता लागेनन्, गृहमन्त्रीलाई नछाड्ने युवा संघको चेतावनी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । युवा संघ नेपाल रुपन्देही अध्यक्ष दुर्गा तिवारीका हत्यारा अझै पत्ता लाग्न सकेका छैनन् । तिवारीको पुस ४ गते देवदहमा गोली हानी हत्या गरिएको थियो ।

घटनालगत्तै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्यालले एकैस्वरमा १५ दिनभित्र अपराधी गिरफ्तार गरिसक्ने प्रतिबद्धता जनाएका थिए । तर, घटना भएको एक महिना वित्न लाग्दा समेत अहिलेसम्म हत्यारा पत्ता लागेका छैनन् ।

‘दुर्गा तिवारीको हत्यारालाई १५ दिनभित्र पक्राउ गर्छाै भनेका थिए,’ युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले आक्रोशित हुँदै भने– ‘अहिले त एक महिना पुग्न लाग्यो तर हत्यारा को हुन भन्ने केही सुरसार छैन् ।’

प्रहरीले २–३ जनालाई समातेर सार्वजनिक मुद्दामा छाड्ने काम गरिरहेको भन्दै उनले घटनालाई युवा संघले गम्भीरतापूवर्क हेरिरहेको बताए ।

युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि आक्रमण गर्ने व्यक्ति प्रयोगकर्ता मात्रै भएको दाबी गर्दै पहारीले तरुण दल बाँके क्षेत्र नम्बर १ का अध्यक्ष दिग्वीजय जंग राणाको योजनामा आक्रमण भएको र यो मुद्दालाई पनि मिलाउन बाँके बन्द गर्नु लोकतन्त्रकै खिल्ली उडाउने काम भएको टिप्पणी गरे । ‘राणा पक्राउ पर्दा जिल्ला बन्द गर्नु लोकतन्त्रकै खिल्ली उडाउनु हो,’ उनले भने ।

‘अपराधीलाई उन्मुक्ति दिए गृहमन्त्रीलाई छाड्दैनौं’

अध्यक्ष पहारीले सरकार अपराधीलाई उन्मुक्ति दिनतिर लागेको आरोप लगाए । ‘हाम्रो संगठनमाथि आक्रमण भइरहँदा सरकार अपराधीलाई उन्मुक्ति दिनतिर लाग्यो । अपराधी जोगाउन लागेको छ,’ पहारीले भने– ‘गृहमन्त्रीले एउटा अपराधीलाई उन्मुक्ति दिने, अनुसन्धान प्रभावित पार्ने काम गरिरहेको सूचना पाएका छौं । यदि अपराधीले उन्मुक्ति पायो भने गृहमन्त्रीलाई छाड्दैनौं ।’

दुर्गा तिवारीका हत्यारा र सन्तोष बुढाथोकीका अभियुक्तलाई कारवाही नभएपछि युवा संघ कडा आन्दोलनमा उत्रिन बाध्य हुने पहारीको चेतावनी छ ।