४ मंसिर २०८३, शुक्रबार

चीनमा रास्वपा सांसदको गलफती : कांग्रेस देउवाकै हातमा जाओस्, ओली र महेश अझै आक्रामक बनून्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूबीच आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राजनीतिक समीकरणबारे भएको अनौपचारिक कुराकानी सार्वजनिक भएको छ।

उनीहरूले नेपाली कांग्रेसको नेतृत्व विवाद र एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिले चुनावमा रास्वपालाई फाइदा पुग्न सक्ने विश्लेषण गरेको सुनिन्छ। रास्वपा सांसद श्रीराम न्यौपानेले शुक्रबार फेसबुकमा सार्वजनिक गरेको भिडियोमध्ये एउटामा सांसदहरूबीचको यस्तो संवाद रेकर्ड भएको हो। भिडियोमा कांग्रेसको आधिकारिकता विवादमा अदालतले शेरबहादुर देउवाको पक्षमा निर्णय गर्नुपर्ने र ओली तथा एमाले नेता महेश बस्नेत अझ आक्रामक रूपमा प्रस्तुत हुनुपर्ने धारणा व्यक्त गरेका हुन् ।

कुराकानीका क्रममा एक सांसदले भनेका छन्, ‘शेरबहादुर देउवाको हातमा कांग्रेस जानुपर्छ।’ त्यसपछि अर्का सांसदले थपेका छन्, ‘अदालतले पनि फैसला गर्दा शेरबहादुर देउवाको हातमा कांग्रेस जानुपर्छ, स्थानीय चुनावसम्म र ओलीले योभन्दा डबल चर्को भएर निस्किनुपर्छ के। ओली र महेश बस्नेत, दुवै।’

ओली र बस्नेतको स्वभावबारे टिप्पणी गर्दै अर्का सांसदले भनेका छन्, ‘यिनीहरू निस्किन्छन् के, यिनीहरूको स्वभावै त्यही हो।’ त्यसको राजनीतिक लाभ रास्वपाले लिन सक्ने भन्दै संवादमा सहभागी अर्का सांसदले भनेका छन्, ‘त्यसको फाइदा हामीले लिन्छौं।’ त्यसमा अर्का सांसदले थपेका छन्, ‘ओलीको बोलीले नै पुग्छ।’

तर विपक्षी दलका नेताहरूको अभिव्यक्तिबाट मात्रै चुनाव जित्न नसकिने भन्दै एक सांसदले सरकारको काम पनि प्रभावकारी हुनुपर्ने बताएका छन्। उनले भनेका छन्, ‘तर हामीले पनि काम गर्नुपर्छ, त्यतिले मात्रै त पुग्दैन।’ सरकारले राम्रो काम गर्न नसके जनताले रास्वपालाई पनि पुराना दलकै अवस्थामा पुर्‍याउन सक्ने उनको भनाइ थियो। उनले थपेका छन्, ‘काम नगरेर त हामीलाई पनि त्यही ठाउँमा पुर्‍याइदिन्छन्।’

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका २० जना सांसद कात्तिक २९ गतेदेखि चीन भ्रमणमा छन्।