
काठमाडौं, १ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा(माओवादी)ले आफ्नो महाधिवेशनको तयारी धमाधम थालेको छ ।
फागुन १ गते काठमाडौंको खुलामञ्चमा उद्घाटन गर्ने जनाएको ‘विप्लव’ माओवादीले फागुनको ५ देखि १० गतेसम्म रोल्पाको थबाङमा बन्दसत्र आयोजना गर्नेछ ।
‘विप्लव’ माओवादीका प्रभावशाली नेता तथा उपत्यका इञ्चार्ज सन्तोष बुढामगरले गाउँदेखि जिल्ला र जनवर्गीय संगठनहरूको अधिवेशन अन्तिम चरणमा रहेको बताए । उनले माघको अन्तिमसातासम्म बाँकी रहेका सबै अधिवेशनहरू सम्पन्न हुने उल्लेख गरे ।
महाधिवेशनको भव्य तयारी गरिरहेको चन्द माओवादीले थबाङमा आफ्नै हल निर्माण गरिरहेको छ । एक करोडभन्दा बढी लागत लाग्ने अनुमान गरिएको हलको काम धमाधम भइरहेको बुढाले बताए ।
‘ढुङ्गाको गाह्रोसहितको भवन (हल) बनाइ रहेका छौँ’, उनले भने, ‘बन्दसत्र सोही हलभित्र गर्ने छौँ । सोही हलमा बस्ने व्यवस्था पनि मिलाउने छौँ ।’ बुढा हल निर्माण समितिका संयोजक पनि हुन् ।
फागुन १ गते अगाडि भवन निर्माणको काम सम्पन्न हुन नसके बाँकी काम महाधिवेशन सक्किएपछि पूरा गर्ने योजना ‘विप्लव’ माओवादीको छ । यो भवनबाट पछिसम्म स्थानीयलाई सहयोग मिल्ने बुढाले बताए ।
महाधिवेशनमा झण्डै एक हजार प्रतिनिधिहरू सहभागी हुने छन् । उनीहरूको खाना र बासको व्यवस्थामा कुनै समस्या नहुने बुढाले बताए ।
जनयुद्धका बेला महत्वपूर्ण भूमिका निभाएको थबाङमा ‘विप्लव’ माओवादीले आफ्नो महाधिवेशन सो स्थानमा गर्न लागेको हो ।











प्रतिक्रिया