काठमाडौं, २९ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन भए चुनावमा जान तयार रहेको स्पष्ट पारेको छ ।
विहिबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस-माओवादी र मधेसवादी दलका शीर्ष नेताहरूको बैठकमा मोर्चाले संसदमा टेबल भएको संविधान संशोधन विधेयक परिमार्जन गरेर पारित गर्न सरकारसँग आग्रह गरेको हो ।
तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष वृखेशचन्द्र लालका अनुसार संशोधन विधेयक संसदमा टेबुल भइसकेको अवस्थामा मोर्चाले संविधान संशोधन विधेयक परिमार्जन गरेर छिटो पारित गर्न सत्ता पक्षलाई आग्रह गरेको थियो ।
‘परिमार्जनसहित संविधान संशोधन विधेयक पारित गर्नुस् । त्यसपछि चुनाव घोषणा गर्नुस् हामी जान तयार छौं भन्ने कुरा हामीले राख्यौं,’ उनले भने– ‘प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाजीले तपाईहरुका माग ठिक छन् । संशोधन विधेयक पास गर्नुकै लागि टेबल भएको हो । विधेयक पारित हुन्छ ठुक्क हुनुस् । बरु निर्वाचनको तयारीमा लाग्नुस् भन्नुभयो । आज सकारात्मक छलफल भयो ।’
स्थानीय तह पुनःसंरचनाको प्रतिवेदनमा आपत्ति
बैठकमा स्थानीय तह पुनःसंरचनाको प्रतिवेदनमा मधेसवादी दलका नेताहरुले आपत्ति जनाएका थिए । ‘राज्य पुरर्संरचनाको विषयमा विवाद हुँदाहुँदै स्थानीय तह पुनर्संरचना आयोगले बुझाएको प्रतिवदेन किन बुझ्नुभयो भनेर हामीले आपत्ति जनायौं,’ नेता वृखेशचन्द्र लालले भने- ‘उहाँहरुले विचार गर्छाै भन्नुभयो ।’
संशोधन प्रस्ताव पारित गराउन मोर्चाले भुमिका खेल्ने: माओवादी प्रवक्ता भुषाल
माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालका अनुसार बैठकमा संसदमा प्रस्तुत भएको संविधान संशोधन प्रस्तावलाई पारित गराउन सकारात्मक भुमिका खेल्ने सहमति भएको छ ।
प्रधानमन्त्रीले संसदमा टेबुल भएको संविधान संशोधन प्रस्तावसहित निर्वाचन सम्वन्धी बिधेयकहरु पारित गरेर स्थानीय तहको निर्वाचन सफल पार्न आग्रह गरेपछि पारित गर्न सकारात्मक भुमिका खेल्ने सहमति भएको भुषालले जानकारी दिइन् ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, उप प्रधानमन्त्री विमलेन्द्र निधि, माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा वादल, मातृका यादव, पम्फा भुषाल, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, ह्दयेश त्रिपाठी, अशोक राईलगायत सहभागी थिए ।












प्रतिक्रिया