गुल्मी, ८ पुस । दलित र गैरदलित त्यसमाथि उमेर पनि निकै फरकबीच प्रेम सम्बन्ध रहेको भन्दै अर्बेनीका स्थानीयवासीले दुवैलाई गाउँ निकाला गरेका छन् ।
गुल्मीको अर्बेनी–५ का ७५ वर्षीय लालबहादुर सुनार र छिमेकी ४३ वर्षीया सावित्रा न्यौपानेबीच सम्बन्ध रहेको भन्दै गाउँलेले गाविस कार्यालयमै छलफल गराएर हस्ताक्षरसमेत गराई गाउँ छाड्न लगाएका हुन् । न्यौपानेका आफन्तको दबाबमा सुनारको घरसमेत भत्काइएको छ। कान्तिपुर दैनिकले समाचार छापेको छ ।
सरदमुकाम तम्घासबाट झन्डै ६० किमि टाढा पूर्वमा रहेको अर्बेनी गाविसमा साताअघि यो घटना भए पनि डरले दुवै जना जंगलमा गएर बसेकाले यसको खुलासा हुन सकेको थिएन । स्थानीय दलित अधिकारकर्मीले बेपत्ता भएको भन्दै खोज्दा जंगलको ओडारमा फेला परेपछि घटना खुलेको हो ।
पुस १ को बिहान ५ बजे लालबहादुरको घरमा सावित्रालाई फेला पारेपछि सावित्राका भतिज चिन्तामणि न्यौपानेको नेतृत्वमा भेला भएका स्थानीयले दुवैलाई गाउँ घुमाएर गाविसमा कागज गराई गाउँबाटै धपाएका थिए ।
गाविसमा भएको छलफलमा स्थानीय कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूसहित आमा समूह र महिला प्रतिनिधि समेतको उपस्थिति थियो ।
‘एक्कासि मान्छे जम्मा भए र उनीहरूले नै लेखेको कागजमा औंठाछाप लगाउन लगाए,’ लालबहादुरका छोरा ३७ वर्षे अनुरामले भने, ‘त्यतिले पनि नपुगेपछि घर नै भत्काउन लगाए ।’
बाबु र ती महिलालाई गाउँबाट धपाएपछि फर्केर आएका स्थानीयले घर भत्काउन दबाब दिएका थिए । ‘नभत्काए आगो लगाइदिन्छौं भनेपछि आफैं भत्काएँ,’ उनले भने ।
अनुरामले नै बाबु खोजिदिन भन्दै स्थानीय दलित अगुवालाई गुहारेपछि सबैको पहलमा दुवै जनालाई छिमेकी गाविस हर्मिचौरको हार्से जंगलभित्र भीरको ओडारमा फेला पारिएको हो ।
‘एक रात हर्मिचौरको नेपाली सेनाको क्याम्प नजिकैको पीपलको रूखको फेदमा बसेर बितायौं,’ पीडित लालबहादुरले भने, ‘त्यहाँ धेरै चिसो भएपछि जंगलमा ओडार खोज्दै गएका हौं ।’
ओडारमा दुई दिन र दुई रात कटाएको उनले बताए । ‘सबै भेला भएर गाउँमा बस्न पाइँदैन भने,’ उनले भने, ‘सबैका अघि मेरो मात्र केही चलेन, त्यसैले घर छोडेर हिँड्यौं ।’ लालबहादुरकी श्रीमतीको २२ वर्षअघि मृत्यु भएको थियो ।
स्थानीय खिमलाल न्यौपानेका अनुसार विपन्न परिवारकी सावित्राका श्रीमान् बोल्न नसक्ने छन् । तीन छोरा र एक छोरीकी आमा सावित्रालाई श्रीमानले कुट्ने र दुःख दिने गरेकाले लालबहादुर अभिभावक जस्तै लागेर सँगै बस्न खोजेको उनले बताइन् । ‘हामी राजीखुसी सँगै बस्न तयार भएका हौं,’ उनले भनिन्, ‘तर, गाउँलेले समाज नै बिग्रन्छ भन्दै गाउँमा बस्न दिएनन् ।’
बाबुलाई गाउँमा राख्न नदिएको र बस्ने घरबास समेत भत्काइदिएकाले न्याय खोज्न भन्दै छोरा अनुरामले बिहीबार सदरमुकाम आएर प्रहरीमा उजुरी दिएका छन् ।
दुई जनाबीच सम्बन्ध रहेको खुलेपछि स्थानीयले राजनीतिक दलका अगुवासहित समाज भेला भएर दुवैलाई कागज गराएका थिए । कागजमा लालबहादुर र सावित्रीको माग निवेदनअनुसार दुवै जनाको राजीखुसीबाट भएको सम्बन्धका कारण अबदेखि पतिपत्नीका रूपमा रही चन्द्रकान्त न्यौपानेको अंशमा दाबी नगर्ने र काजकिरियासमेत गर्न नपर्ने उल्लेख छ ।
उक्त कागजमा गाविस सहायक झविलाल न्यौपाने, कांग्रेस सभापति रामप्रसाद न्यौपाने, एमाले अध्यक्ष देवीप्रसाद न्यौपाने, माओवादी केन्द्रका पुनाभद्र न्यौपाने र महिला प्रतिनिधि हरिकला न्यौपानेसहित स्थानीय २८ जनाको उपस्थिति र हस्ताक्षर छ ।














प्रतिक्रिया