१२ कार्तिक २०८३, बिहिबार

तिवारी हत्याकाण्ड: अर्को समूहको पनि दाबी, लुम्बिनी तनावग्रस्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ६ पुस । युवा संघका रूपन्देही अध्यक्ष दुर्गा तिवारी हत्याका कारण लुम्बिनी क्षेत्र तनावग्रस्त भइरहँदा सरकारले नेपाल प्रहरीका एआईजी विज्ञानराज शर्माको नेतृत्वमा केन्द्रीय छानबिन टोली गठन गरेको छ ।

रूपन्देही प्रहरीले अनुसन्धानका क्रममा देवदह क्षेत्रबाट तीन युवालाई पक्राउ गरेको छ भने केन्द्रीय टोली बिहीबार बल्ल रूपन्देही पुग्ने भएको छ । युवा संघ सम्बद्ध स्थानीय युवाले भने तिवारी हत्यामा प्रशासनको लापरबाही दोषी रहेको आरोप लगाएका छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

हत्यामा प्रयोग भएको हुन सक्ने भन्दै तिलोत्तमाको कान्छीबजारबाट प्रहरीले बा ५१ प ८०७३ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ । चाबीसमेत बन्द नगरेको रातो पल्सर बेवारिसे अवस्थामा रहेको रूपन्देहीका प्रहरी प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए ।

प्रहरीले अनुसन्धानका क्रममा तीनजनालाई पक्राउ गरेको उल्लेख गरे पनि पहिचान नखुलाएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मुकुन्द मरासिनीले जानकारी दिए ।

एआईजी शर्मा नेतृत्वको छानबिन टोलीमा डीआईजी यादवप्रसाद रेग्मी, एसएसपी मनोज न्यौपाने र गृह मन्त्रालयका उपसचिव शिवराज जोशी सदस्य छन् ।

घटनाको दोस्रो दिन देवदह–७ स्थित तिवारीको घरमा सयौं सर्वसाधारण एकअर्काको अनुहार हेर्दै कसैले केही नयाँ कुरा सुनाउँछ कि भन्ने आसमा थिए । महेन्द्र राजमार्गको उत्तरतर्फ रहेको तिवारीको गाउँमा सन्नाटा छाएको थियो । तिवारीको हत्यासँगै अन्य युवालाई पनि ज्यान मार्ने धम्की आएपछि कसैले घटनाबारे केही बताउन सकेको छैन ।

उनीहरूको एउटा बुझाइ छ, ‘नौ महिनाअघि नै तिवारीको हत्या प्रयास गर्नेलाई कारबाही नगर्दा उनले अहिले ज्यान गुमाउनुपर्‌यो ।’

गत फागुन ६ मा वसन्तपुरमा गोली छलेर बाँचेका तिवारीमाथि सोमबार फेरि आक्रमण भएको थियो । यसबीच तिवारीलाई पटकपटक धम्की आए । उनी न्यायका लागि प्रहरी कार्यालयसम्म पुगे पनि कुनै सुनुवाइ भएन ।

फागुनको घटनामा संलग्न नौमध्ये आठजना (शालिकराम चापागाईं, ऋषिराम घिमिरे, सन्जोग नेपाली, राजेन्द्र धमेल, उर्गेन गुरुङ, चित्रबहादुर गुरुङ, बेनिराम सोमई र रवि केसी) पुर्पक्षका लागि थुनामा छन् ।

‘तर मुख्य नाइके भनिएका मनोज पुनलाई पक्राउ गर्न सकिएन’, इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन डीएसपी महेन्द्र खड्काले भने ।

नेपालभित्र नभएको भन्दै प्रहरीले खोजी छाडेपछि मुख्य योजनाकार पुन स्वतन्त्र भए । अनुसन्धानमा खटिएका वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक प्रदीप जीसी भन्छन्, ‘कहिले लन्डन, कहिले ग्रिस, कहिले अमेरिकाको नम्बरबाट फोन आइरहन्थ्यो, हामी प्राविधिक रूपमा पनि उनलाई समात्न असफल भयौं ।’

मंगलबार जिल्ला प्रहरी कार्यालयले तिवारीको हत्यामा संलग्न रहेको तिनै मनोजको तस्बिर सार्वजनिक गर्‌यो । टेलिफोनकै आधारमा प्रहरीले मनोजलाई संकेत गर्नु अपरिपक्वता भएको सुरक्षा अधिकारीहरू नै बताउँछन् ।

‘मार्छु भन्नेलाई प्रहरीले समात्न नसक्दा यस्तो भयो,’ पतिको मृत्युले विक्षिप्त रेनुले देवदह–७ स्थित घरमा भनिन्, ‘मेरा श्रीमान्लाई मार्नेलाई पनि त्यस्तै (कारबाही) गराउनुपर्छ ।’ समयमा प्रहरीले हत्या प्रयास गर्नेलाई कारबाही गरको भए पतिको ज्यान नजाने उनको जिकिर छ ।

दुर्गाका दाजु चक्रपाणिले भाइ कसैसँग दुस्मनी नराख्ने स्वभावको भएको बताए । ‘हामीलाई अन्याय भयो, सत्य कुरा बाहिर ल्याइदिनुस्,’ उनले सञ्चारकर्मीसँग आग्रह गर्दै भने । अटो व्यवसायी चक्रपाणि देवदहकै सिंगाहामा बस्छन् ।

सामाजिक क्षेत्रमा क्रियाशील दुर्गा केही वर्षयता राजनीतिमा आबद्ध थिए । आधा दशक कोरिया बस्दा उनले सम्पत्ति जोडे । खैरेनीमा घर बनाए । इँट्टा उद्योग खोले । व्यवसाय र राजनीतिलाई एकसाथ अँगालेका उनी देवदहमा इमानदार र धेरैका प्रिय थिए ।

किचनमा पुग्यो खबर

सोमबार दिउँसो साढे ३ बजेतिर युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारी गोली लागेर तोरीबारीमा ढल्दा उनकी श्रीमती रेनु भान्सामा नास्ता बनाउँदै थिइन् । कामको सिलसिलामा बाहिर निस्किने तिवारी दिउँसो खाजा खान घर पुग्थे । सोमबार पुगेनन् ।

रेनुले खाजा तयार गरिरहँदा उनका भान्जा रुँदै पुगे । बल्ल रेनुलाई श्रीमान्माथि गोली चलेको थाहा भयो । रेनुले थाहा पाउँदासम्म खैरेनी बजारमा मानिसको भीड लागेको थियो । घरदेखि ३ सय मिटर दक्षिणमा तिवारीमाथि गोली चलाइएको थियो । तिवारीसँगै मोटरसाइकलमा बसेका उनका साथी खुसी न्यौपाने चिच्याएपछि नजिकैको घरको बरन्डामा रहेका शालिकराम पाठकले सुने । खुसी ‘गोली हाने, मोटरसाइकल नम्बर हेर्नुस्’ भनेर चिच्याए ।

त्यति बेलासम्म मोटरसाइकल अदृश्य भइसकेको थियो । शालिकराम घटनास्थल जाँदा तिवारीको खुट्टा एभेन्जर मोटरसाइकलले च्यापिएको थियो । न्यौपाने उभिएर चिच्याउँदै थिए । मोटरसाइकल खेततिर मोडिएको देख्नेले टायर पड्किएको आकलन गरेका थिए ।

एकदुईजना हुँदै जम्मा भएका सर्वसाधारणले अचेत रहेका तिवारीलाई अस्पताल पुर्‌याए । रेनुले श्रीमान्लाई अस्पतालमा मात्रै भेटिन् । तिवारीका चार र ६ वर्षीया दुई छोरी छन् । तिवारी परिवारका कान्छा छोरा हुन् ।

घटनास्थल पुगे नेता

मृतक तिवारीको परिवारलाई भेट्न एमाले नेताहरू देवदह पुगेका छन् । एमाले उपमहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुसाल, युवा संघका केन्द्रीय अध्यक्ष राजीव पहारी तिवारी निवास खैरेनी पुगेका थिए । उनीहरूले हत्यामा संलग्नलाई कारबाही गराएरै छाड्ने आश्वासन परिवारलाई दिएका छन् । नेताहरूले प्रदेश विभाजनविरुद्धको आन्दोलनमा सक्रिय युवाको हत्या हुनुलाई कमजोर नठान्न सरकारलाई आग्रह गरेका छन् ।

अर्को समूहको पनि दाबी

देवदह–२ स्थायी घर भएका मनोज पुनले हत्याको दाबी गरेको अर्काे दिन हिन्दी भाषामा लेखिएको म्यासेजमार्फत हत्याको दाबी गरिएको छ । मधेसी जनमुक्ति सेनाको संयोजक प्रतापसिंह मधेसी नाम उल्लेख गरेर एनसेलको नम्बर ९८१२९०२७९१ बाट म्यासेज आएको हो । मनोजले भने प्राइभेट लेखिएको नम्बरबाट फोन गरेका थिए ।