१२ कार्तिक २०८३, बिहिबार

किन भयो युवा संघ अध्यक्षको हत्या ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ५ पुस । एमाले भातृ संगठन युवा संघ नेपालका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएको छ ।

देवदह–८ खैरनीस्थित आफ्नै घर नजिकै मोटरसाईकलमा हिडिरहेको बेला गोली प्रहारबाट गम्भीर घाइते भएका तिवारीको उपचारको क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भएको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द मरासिनीका अनुसार रातो पल्सर मोटरसाइकलमा आएक दुई व्यक्तिले तिवारीमाथि गोली हानी फरार भएका थिए ।

दायाँतर्फ पछाडिबाट हानिएको गोली छातीको अगाडि बायाँतर्फबाट बाहिर निस्किएको छ । देवदहमा ईट्टा व्यवसाय सञ्चालन गर्दै आएका तिवारीमाथि दिउँसो साढे तीन बजे देवदह ८ कोलीय बचत तथा सहकारी संस्थादेखि १ सय मिटर दक्षिणमा गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

देवदह नगरपालिक खैरेनीका ३८ वर्षीय तिवारी स्थानीय केविआइ इट्टा भट्टका सञ्चालक हुन । युवा व्यवसायी तिवारीलाई केहि महिनाअघि पनि आफ्नै भट्टामा बसिरहेको अवस्थामा तिवारीमाथि आक्रमण भएको थियो । तर, त्यतिबेला आक्रमणबाट बचेका थिए ।

सो घटनापछि प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएर मुद्धा चलाएको थियो । तर घटना मुख्य नाईके मनोज राना पुन भने फरार रहेका थिए । यो घटना उनै मनोजले गराएको आशंका प्रहरीले गरेको छ ।

तिवारी र मनोजवीचमा लेनदेनमा विवाद भएको दावी प्रहरीको छ । तर सो घटना राजनीतिक हुनसक्ने आशंका पनि गरिएको छ । घटनापछि स्थानीय युवाहरूलाई समेत प्राइभेट नम्बरबाट फोन गरी मनोज पुन भन्ने व्यक्तिले धम्की दिने गरेको स्थानीयले जनाएका छन् ।

तिवारीको गोली प्रहारबाट मृत्यु भएपछि देवदहवासी त्रसित बनेका छन् । स्थानीय समाजसेवी ध्रुव खरेलले आफूलाई समेत प्राइभेट नम्बरबाट फोनमार्फत ज्यान मार्ने धम्की आएको बताए ।

पछिल्लो समय रूपन्देहीको सुरक्षा व्यवस्था कमजोर हुँदै गएको छ । दुई साता अगाडि सिद्धार्थनगर उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेमाथि पनि गोली प्रहार भएको थियो । न्यौपाने भने गोली छल्दा बाँच्न सफल भएका छन ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले अन्य व्यक्तिहरुलाई धम्की दिएकोबारे आफूलाई जानकारी नआएको तर घटनामा मनोज पुनको संलग्नता हुनसक्ने आशंकामा खोजी कार्य भईरहेको बताए ।

गोली हानी हत्या गरिएका युवा संघ अध्यक्ष तिवारीले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको बिरूद्ध रूपन्देहीमा जारी आन्दोलनमा अग्रभागमा रहेर अगुवाइ गरेका थिए । तिवारी दुई वर्ष अगाडिदेखि युवा संघ रूपन्देहीका अध्यक्ष थिए ।

उनी हालै भएको रुपन्देही एमाले अधिवेशनमा झिनो मतले पराजित भएका थिए । युवा संघका केन्द्रीय उपाध्यक्ष राजु गुरुङका अनुसार उनी केही दिनयता पाँच नम्बर प्रदेश टुक्राउन हुन्न् भनेर सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा आन्दोलनको नेतृत्व गर्दै आएका थिए । तिवारीका दुई छोरी र श्रीमती छन् । एमालेले युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ ।

बुटवलमा प्रदर्शन

तिवारीको हत्या भएलगत्तै ठाउँ ठाउँमा प्रदर्शन गर्दै हत्यामा संलग्नलाई कारवाहीको माग गरेका छन् । बुटवलमा हत्याको विरोधमा प्रर्दशन गर्दै आक्रोशित युवाहरुको एक समूहले बुटवल राजमार्ग चौराहामा सडक अबरुद्ध गरेपछि प्रहरीसँग झडपसमेत भएको थियो ।

आक्रोशित युवाहरुले प्रहरी विटमा समेत आगजनीको प्रयास गरेका थिए । तर प्रहरीको सक्रियताका कारण क्षती भने हुन पाएन । युवाहरुले राजमार्ग चौराहामा बा १४ प ४११३ नम्बरको कारमा तोडफोड गरेका छन ।

उता देवदहमा युवा संघले विरोध गर्दै सडक अबरुद्ध गरेका छन भने तिलोत्तमा नगरपालिकाको शंकरनगर, सैनामैना लगायतका क्षेत्रमा पनि युवाहरुले प्रदर्शन गरेका छन । यसैविच युवा संघ नेपालले तिवारीको हत्या विरोधमा मंगलबार लुम्बिनी अञ्चल बन्दको घोषणा गरेको छ ।