काठमाडौं, ३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले हालै सार्वजनिक गरिएको सम्पत्ति विवरणभन्दा आफूसँग थप कुनै सम्पत्ति नभएको दाबी गरेका छन् ।
प्रधानमन्त्रीको सम्पत्ति विवरणमा आशंकाहरु व्यक्त भइरहँदा शनिबार बिहान यहाँ आएका दाहालले आफ्नो सबै सम्पत्ति पार्टीलाई बुझाइसकेको बताए । ‘तपाईं चितवनवासीलाई राम्रो थाहा छ, तपाईंहरुले भन्दिनुपर्यो (सम्पत्तिबारे),’ उनले आफ्नो सम्पत्ति विवरणबारे चितवनमा भएको पत्रकार सम्मेलनमा खुलाए, ‘शिवनगरमा म जहाँ बसेको थिएँ, दाजुभाइबीच अंशबण्डा पर्दा डेढ बिगाहा परेको थियो, सबै बेचेर पार्टीलाई बुझाएको थिएँ, पार्टीको निर्णय पनि थियो त्यो, अंशबण्डा गर्दा श्रीमतीको नाममा भरतपुरमा एक कठ्ठा थियो, त्यो बाहेक केही छैन ।’
विभिन्न टावरको स्वामित्वबारे प्रश्न उठ्ने गरेको बताउँदै प्रधानमन्त्रीले आश्चार्य प्रकट गरे । ‘अग्लो टावर बन्यो भने प्रचण्डको भन्ने चलन रहेछ, अस्ति चन्द्रागिरी उदघाटन गर्न गएँ, त्यो पनि प्रचण्डकै भन्ने रहेछ,’ उनले भने, ‘अहिले त म देशै मेरो भन्ने गरेको छु ।’
कान्तिपुर दैनिकमा समाचार छ ।















प्रतिक्रिया