४ मंसिर २०८३, शुक्रबार

कांग्रेस–माओवादी र मधेसी मोर्चाबीच कुरा मिल्यो, संशोधनबाट ‘ब्याक’ नहुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । सरकार र मधेसी मोर्चाबीच संविधान संशोधन प्रस्तावबाट कुनै हालतमा ‘ब्याक’ नहुने सहमति भएको छ ।

शनिबार साँझ बालुवाटारमा बसेको कांग्रेस, माओवादी र मधेसवादी दलहरुको संयुक्त बैठकले संविधान संशोधन प्रस्ताव फिर्ता नलिने र स्थगन पनि नगर्ने निर्णय गरेको मधेसी मोर्चाका नेता केशव झाले बताए ।

‘प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार संशोधन प्रस्तावबाट ब्याक हुन्न् । स्थगन गर्ने वाइयात कुरा हो । संसदमा गइसक्यो । परिमार्जनसहित अगाडि बढाउँछौं भन्नुभयो,’ बैठकपछि मोर्चाका नेता झाले भने– ‘हामीले पनि त्यसो भए ठिक छ । परिमार्जन गर्नुस् । सहयोग गर्छाै भन्यौ ।’

बैठकमा संविधान संशोधन थाँती राख्दै चुनाव गर्नेबारे बाहिर भएको चर्चाका विषयमा मोर्चाले चाँसो राखेको थियो । जवाफमा प्रधानमन्त्रीले संशोधन थाँती पनि नराख्ने र सबैको सहमतिबाट चुनाव गरिने स्पष्ट पारेका थिए ।

संशोधन प्रस्तावमा सहमति जुटाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ । ‘संशोधन र चुनावका विषयमा एमालेसँग फाइनल कुरा गरेर सहमति जुटाउने समझदारी भएको छ,’ नेता झाले भने– ‘एमाले न्युनतम सहमतिमा आउने सबैको विश्वास छ ।’

यता प्रधानमन्त्रीको सचिवालयले पनि संविधान संशोधन प्रस्ताव अगाडि बढाउन संसदको गतिरोध अन्त्यका लागि एमालेसँग पहल गर्ने सहमति बैठकले गरेको जनाएको छ ।

‘संसदमा निरन्तर अवरोध गर्नु जिम्मेवार प्रतिपक्षको काम नभएको ठहर गर्दै बैठकले अवरोध हटाउन प्रमुख प्रतिपक्षी एमालेसँग पहल गर्ने सहमति गरेको छ,’ सचिवालयले भनेका छ- ‘त्यसैगरी स्थानीय तह पुर्नसंरचना र संसदमा दर्ता भएको संशोधन प्रस्तावको परिमार्जनका विषयमा थप छलफल गरी सहमति जुटाउने समझदारी बनेको छ ।’

बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा, संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठ, तमलोपा अध्यक्ष महन्थ ठाकुर, राजकिशोर यादव लगायतको सहभागिता थियो ।