तनहुँ, २ पुस । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले संविधान संशोधनको प्रस्ताव राष्ट्र विखण्डन गर्ने प्रयास स्वरुप आएको बताएका छन् ।
तराईका जिल्लाहरुलाई पाहाडी जिल्लाहरुबाट अलग गरि भविष्यमा मधेसमा छुट्टै राज्य स्थापना गर्ने उद्देश्यले उक्त प्रस्ताव दर्ता गरिएको पोख्रेलले बताए । संविधान कार्यान्वयनकालागि जनपरिचालन अभियान २०७३ अन्तर्गत नेकपा एमाले तनहुँले शनिबार दमौलीमा आयोजना गरेको जिल्ला स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोख्रेलले अहिले नवलपरासी, रुपन्देही र कपिलबस्तु जिल्ला माग्ने समुहले केही पछि कैलाली, कन्चनपुर, झापा, मोरङ र सुनसरी पनि माग्ने ठोकुवा गरे ।
एक राष्ट्र भएको नेपालमा मधेस र नेपाल राष्ट्रको पहिचान दिने उद्देश्यले अहिले सिमांकनको कुरा उचालिएको पोख्रेलले बताए । सर्लाही र सिराहामा चुनाव हारेका राजेन्द्र महतो र महन्त ठाकुरले पाँच नम्वर प्रदेश मागेको भन्दै महासचिव पोख्रेलले संविधान संशोधन एमालेले कुनै पनि हालतमा पास हुन नदिने बताए ।

संविधान संशोधनको प्रस्ताव संसदमा छलफलको विषय नै बन्न नसक्ने भन्दै देश विखण्डन गर्ने प्रस्ताव संसदमा छलफल योग्य नभएको बताए । हिन्दी भाषालाई राष्ट्र भाषा बनाउने योजना अनुसार संशोधन प्रस्तावमा भाषा आयोगको विषय राखिएको पनि उनको भनाई थियो । संविधान सर्वस्विकार्यको कुरा उठाउनु पाखण्डपन भएको भन्दै पोख्रेलले विश्वको कुनै पनि संविधान सबैको सर्व स्विकार्य नभएको बताए ।
संविधान भनेको तत्कालिन शक्ति सन्तुलनको सम्झौताको दस्तावेज भएको भन्दै उनले आफ्नो शक्ति अनुसार नै संविधान निर्माण हुने पोख्रेलले बताए ।
सो कार्यक्रममा नेकपा एमालेका बैकल्पिक पोलिट्व्युरो सदस्य एवं प्रदेश नम्बर ४ का सचिव जगत विश्वकर्माले संविधान कार्यान्वयन भएमा मात्र देशले गति लिने भन्दै एमाले कार्यकर्ताहरुले संविधान कार्यान्वयनको लागि दवाव दिने बताए ।












प्रतिक्रिया