४ मंसिर २०८३, शुक्रबार

संविधान प्रस्तावलाई थाँती राखेर गतिरोध हटाउनुपर्छ : कांग्रेस नेता महत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुस । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता रामशरण महतले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई तत्काल थाँती राखेर स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले भने, ‘संविधान संशोधन प्रस्तावलाई लजिकल ईण्डमा पुगाउनुपर्छ, प्रस्तावलाई संवैधानिक प्रक्रियामा लैजानुपर्छ, यसको विरोधमा संसद नै अवरुद्ध गर्नु गलत हो, एमालेले गल्ती गरिरहेको छ ।’

महतले एमालेले भनेजस्तो संशोधन प्रस्ताव फिर्ता लिनुपनि उचित नहुने जिकिर गर्दै भने, ‘अहिले देखिएको संसदको गत्यावरोधलाई अन्त्य गर्नको लागि पनि संशोधन प्रस्तावलाई थाँती राखेर जानुको विकल्प छैन् ।’

नेता महतले भने, ‘अहिले संशोधन प्रस्ताव फिर्ता लिनु हुँदैन, यो उचित पनि छैन, बरु अब यसलाई थाँती राखेर अन्य अति आवश्यक ऐन/कानूनहरुलाई अघि बढाउनुपर्छ, निर्वाचन सम्बन्धी विद्येयक, महाअभियोगको प्रस्तावलाई अघि बढाउनुपर्छ, अहिले संसदमा विभिन्न ऐन तथा कानूनहरू छन्, तिनीहरूलाई निश्कर्षमा पुगाउनुपर्छ, अब चुनावको मिति घोषणा गर्नुपर्छ ।’

उनले स्थानीय तहलाई अहिलेको संविधानले धेरै अधिकार दिएको उल्लेख गर्दै भने, ‘अहिलेको संविधानले स्थानीय तहलाई धेरै अधिकार दिएको छ, स्थानीय तह जति अधिकार त जिल्लालाईपनि छैन् ।’ महतले अधिकारको उपयोग ठीक ढंगले हुनुपर्नेमा जोड दिए । उनले भने, ‘यसको संरचना बनाउनुपर्छ, मानवस्रोत चाहियो, प्रशासनिक पूर्वाधार चाहियो, भौतिक पूर्वाधार चाहियो ।’

उनले स्थानीय तहको पूर्नसंरचनाको लागि आयोगले काम गरिरहेको जानकारी दिँदै भने, ‘आयोगले काम त गरिरहेको छ, तर यसलाई विवादमा पार्ने काम कसैले गर्नुहुँदैन, कतिपय जिल्लामा अझै विवाद छ, तराईका ८ जिल्लामा आयोग अहिलेसम्म प्रवेश नै गर्न सकेको छैन्, त्यसैले जबरजस्ती आयोगलाई काम गर्न प्रेसरपनि दिनुभएन, जनताको जनमत विपरित कुनै पनि प्रदेशको सिमांकन हेरफपेर गर्नुहुँदैन् ।’

स्थानीय तहको पूर्नसंरचना गर्ने विषय अत्यन्तै महत्वपूर्ण विषय भएकोले यसमा हतार गर्न नहुने उनको भनाई थियो । महतले भने, ‘बरु केही समय लागेपनि लागोस्, विज्ञहरुलाई लिएर भएपनि काम गर्नुपर्छ ।’ उनले परिवर्तनको नाममा जथाभावी काम गर्दा गञ्जागोल हुनेतर्फ सचेत गराउँदै महतले संविधान अनुसार नै काम गर्नुपर्ने धारणा राखे ।

उनले एमालेले भनेजस्तो अहिले नै केन्द्रिय संसदको चुनाव गर्न नहुने जिकिर गरे । महतले भने, ‘अहिले समय बाँकी छ, ०७४ माघ ७ गतेसम्म तीन वटै निकायको निर्वाचन गर्नुपर्ने भएकोले समय बाँकी छ ।’ उनले स्थानीय निकायको निर्वाचन नै अहिलेको आवश्यकत्ता भएको बताए ।