काठमाडौं, १ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पोखरामा कालो झण्डा देखाइएको छ । र, झण्डा देखाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेकपा माओवादी केन्द्र कास्कीको पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुन पार्टी अध्यक्ष समेत रहेका दाहाल शुक्रबार पोखरा विमानस्थल ओर्लिएका थिए ।
त्यहाँबाट कार्यक्रमस्थल उद्योग वाणिज्य संघ गैरापाटनको हलतिर जानेक्रममा संविधान संशोधन प्रस्तावको विरोधमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट अनेरास्ववियुले उनलाई सिर्जना चोकमा कालो झण्डा देखाएको हो ।
लगत्तै कास्की प्रहरीले कालो झण्डा देखाउनेमध्येका दुई जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतम र अनेरास्ववियु क्षेत्र नम्बर ४ का इन्चार्ज माधव गौतम रहेका छन् ।
दुबै जनालाई पोखराको लेकसाइडस्थित वैदाम प्रहरी चौकीको हिरासतमा राखिएको छ ।
‘संविधान संशोधन प्रस्तावको विरोधमा प्रधानमन्त्रीलाई कालो झण्डा देखायौं,’ हिरासतमा रहेका अनेरास्ववियु अध्यक्ष गौतमले फोनमा भने- ‘३० जना जति थियौं । सिर्जना चोकमा झण्डा देखाइसकेपछि म सहित दुई जनालाई प्रहरीले पक्राउ गरी चौकी ल्याएको छ । संविधान कार्यान्वयन र निर्वाचन छाडेर ल्याइएको संशोधन प्रस्ताव फिर्ता लिनुपर्छ भन्ने हाम्रो माग हो ।’











प्रतिक्रिया