काठमाडौं, २९ मंसिर । नेपाल र चीनबीचको अर्थ र परराष्ट्र सचिवस्तरीय द्विपक्षीय संयन्त्रको बैठकले स्थगन भएको पाँच महिना बित्दासमेत निरन्तरता पाउन सकेको छैन ।
लामो समयदेखि नेपालका तर्फबाट पहल हुँदा पनि बैठक अघि बढ्न नसकेको नेपाली अधिकारीहरूले बताउँदै आएका छन् । चिनियाँ पक्षले यसबारे औपचारिक धारणा व्यक्त गरेको छैन । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
‘हामी चिनियाँ पक्षले प्रस्ताव गर्ने तिथि पर्खंदै छौं । कहिलेसम्म पर्खनुपर्ने हो थाहा छैन । चीनले छिट्टै मिति प्रस्ताव गर्ने जनाएको छ’, परराष्ट्रका एक अधिकारीले भने, ‘अर्थ र परराष्ट्र सचिवस्तरीय बैठक नभएसम्म चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणसमेत हुने सम्भावना छैन । दुईपक्षीय सहयोग र सहकार्यसम्बन्धी सबै प्रक्रिया त्यही बैठकले तय गर्ने हो ।’
गत भदौ ८ का लागि निर्धारित नेपाल९चीन अर्थ सचिवस्तरीय बैठक अन्तिम समयमा स्थगित भएको थियो । बैठकमा भाग लिन चिनियाँ उपवाणिज्यमन्त्री गाओ यान काठमाडौं आउने भनिएको थियो । त्यसको चार साताअघि परराष्ट्र सचिवस्तरीय स्थायी संयन्त्र बैठक पनि स्थगन भएको थियो ।
बैठक स्थगन भएपछि परराष्ट्र सचिव शंकरदास बैरागी चिनियाँलाई फकाउन बेइजिङ नै पुगेका थिए । चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण हुने निश्चित भएको भए दुवै बैठक हुने थिए ।
ब्रिक्स बैठकमा भाग लिन भारत जाँदा राष्ट्रपति सी कम्बोडिया र बंगलादेश भ्रमणमा गए पनि नेपाल आएनन् ।
चिनियाँ पक्षले यी बैठक स्थगित हुनु र भ्रमण नहुनुमा नेपालको उदासीनता मुख्य कारण रहेको बताउँदै आएको छ । अर्थ मन्त्रालयका अधिकारीहरूले भने नेपालको पछिल्लो राजनीतिक परिवर्तनका कारण बैठक स्थगित नभएको भन्दै चिनियाँ पक्षले तत्काल द्विपक्षीय बैठक गर्न नचाहेको बताए ।
‘चिनियाँ पक्षले आन्तरिक कारण देखाउँदै अर्थ सचिवस्तरीय र त्यसअघि परराष्ट्र सचिवस्तरीय संयन्त्र बैठक हुन नसक्ने जानकारी गराएको थियो। तर अहिले बैठक गराउन पहल थालेको छ’, परराष्ट्र अधिकारीले भने, ‘बैठकको नयाँ मिति चीनका तर्फबाट आउनेछ ।’














प्रतिक्रिया