१२ कार्तिक २०८३, बिहिबार

किन भेला हुँदैछन् काठमाडौंमा ५१ देशका प्रहरी प्रमुख ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

interpol_logo_blueकाठमाडौं, २९ मंसिर । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को एसिया प्रशान्त क्षेत्रीय सम्मेलन काठमाडौंमा हुने भएको छ । करिब २७ वर्षपछि एसिया प्रशान्त क्षेत्रका केही गृहमन्त्री र ५१ देशका प्रहरी प्रमुख नेपाल आउन लागेका हुन् ।

प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्माका अनुसार आगामी १७ जनवरीमा उनीहरू नेपाल आइपुग्नेछन् । राजधानी दैनिकले समाचार छापेको छ ।

सोही दिनबाट काठमाडौंमा सम्मेलन सुरु हुने एआईजी शर्माले जानकारी दिए । तीन दिनसम्म चल्ने सम्मेलनमा अन्तर्राष्ट्रिय आतंकवाद, मानव बेचबिखन, लागूऔषध तथा संगठित अपराध नियन्त्रणजस्ता गम्भीर विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

यस्तो सम्मेलन सन् १९८९ मा सम्पन्न भएको थियो । प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागलाई सम्मेलन तयारीको जिम्मा दिएको छ । हरेक दुई/दुई वर्षमा सदस्य इन्टरपोलमा आबद्ध राष्ट्रहरूमा हुने एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा ५० देशका तीन उपक्षेत्रीय कार्यालय प्रतिनिधि सम्मेलनमा भाग लिन आउँनेछन् ।

अपराध विभागका प्रमुख एआईजी शर्माको नेतृत्वमा सम्मेलन सफल बनाउन सात सदस्यीय मूल समिति गठन गरिएको छ । त्यसैगरी, पूर्वतयारी समिति पनि छुुट्टै बनाइएको छ । जसमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) बमबहादुर भण्डारी, विजयलाल कायस्थ, माधवप्रसाद जोशी, देवेन्द्र सुवेदी, मिङमार लामा, हेमन्तबहादुर पाल, रोमेन्द्रसिंह देउजा, रामकुमार खनाल, शिला कार्की कंशाकार र एसएसपी कृष्णप्रसाद गौतम रहेका छन् ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सम्मेलनमा भाग लिन विभिन्न संघसंस्थाका प्रतिनिधिसमेत काठमाडौं आउने भएका छन् । विश्व भन्सार संघसँग सम्बन्धित प्रतिनिधि, संयुक्त राष्ट्रसंघीय लागूऔषध नियन्त्रण कार्यक्रमसँग सम्बन्धित प्रतिनिधि, अन्तर्राष्ट्रिय आप्रावासी संगठनका प्रतिनिधि, आसियान सचिवालय प्रतिनिधि र सार्क सचिवालयका प्रतिनिधि सम्मेलनमा सहभागी हुनेछन् ।

यसैगरी, संयुक्त राष्ट्रसंघीय अपराध उपचार नियोगका प्रतिनिधि, अरबियन मन्त्रिपरिषद्का सदस्य, गल्फ तथा अरब राष्ट्रका प्रतिनिधि, आर्थीका समन्वय संगठनका प्रतिनिधि, ईक्याप्ट इन्टरनेशनलका प्रतिनिधि, राष्ट्रिय परिधिभित्र रहेको अपराध अनुसन्धान गर्ने अस्ट्रेलियन विश्वविद्यालयका प्रतिनिधि, एसियन महाद्वीपका प्रहरी प्रमुख, प्यासिफिक ट्रान्सनेसन क्राइम कोअर्डिनेसनका प्रतिनिधि पनि सहभागी हुनेछन् ।

सम्मेलनमा एसियन क्षेत्रीय इन्फरमेसन सेन्टरका प्रतिनिधि, विश्व प्रतिआतंकवाद संस्थाका प्रतिनिधिहरूले समेत भाग लिनेछन् । सम्मेलनमा छलफल गरिने मुख्य एजेन्डा इन्टरपोलका महासचिवले तय गरी नेपालमा पठाउँनेछन् ।

आतंकवाद अपराध, युद्ध अपराध, मानवताविरुद्धको अपराध, पर्यावरणीय अपराध, संगठित अपराधजस्ता दर्जनौं अपराध नियन्त्रणका लागि पहलकदमी लिने संगठन भएकाले अहिले देखिएको मुख्य समस्यासँग पनि इन्टरपोलले नेपालमा हुने सम्मेलनमा छलफल गर्ने भएको छ ।

सम्मेलनमा भाग लिन एसिया महादेशबाहेक अमेरिका र फान्सका प्रहरी प्रमुख पनि नेपाल आउने भएका छन् । १ सय ९० देशका प्रहरी संगठन सदस्य रहेको इन्टरपोलको वार्षिक बजेट ७८ लाख डलर रहेको छ ।

सम्मेलन सकिएपछि इन्टरपोल मुख्यालय फ्रान्सबाट नेपाल प्रहरीले गरेका काम कारबाहीको अनुगमनका लागि ४ अप्रिल २०१७ मा नेपाल आउने कार्यक्रम रहेको छ । इन्डोनेसियाको बालीमा सम्पन्न इन्टरपोलको ८५औं महासभाबाट अध्यक्षमा निवार्चित भएका चीनका मेङ होङवीईको नेपालमा हुने सम्मेलन इनटरपोलको पहिलो कार्यक्रम हुनेछ । उनी चीनका राज्यमन्त्री हुन् ।

यस्तै, एसिया प्यासिफिक सबै देशका प्रहरी प्रमुखहरू यस सम्मेलनमा नेपाल आउनेछन् । सम्मेलनमा २ सयभन्दा बढी अधिकारीहरू नेपाल आउने प्रहरी प्रधान कार्यालयले जनाएको छ । एउटा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन हुने भएकाले मुलुकको छविबारे सकारात्मक सन्देश प्रवाह हुने प्रहरीको भनाइ छ ।

पर्यटनका दृष्टिकोणले पनि यो सम्मेलन फलदायी हुने प्रहरीले जनाएको छ । सबै प्रहरी प्रमुखहरू आफ्नै खर्चमा नेपाल आउने र होटल खर्चसमेत आफैंले बेहोर्ने भएका छन् । नेपालले कार्यक्रम र डिनर/लन्चको खर्च मात्र बेहोर्ने छ ।

नेपाल आउने प्रहरी प्रमुखहरूले केही दिन नेपाल घुम्न इच्छा देखाएका छन् । यसबाट पर्यटन क्षेत्रका प्रचारप्रसार हुने प्रहरी अधिकारीहरूको दाबी छ । नेपाल लागूऔषध र वन्यजन्तु अंग कारोबारमा ट्रान्जिट देशका रूपमा प्रयोग भइरहेको छ ।

दक्षिण अमेरिकन देशहरूमा उत्पादन हुने कोकिनदेखि अफगानिस्तानको हेरोइनसम्म नेपाल हुँदै युरोपलगायत विभिन्न देश पुग्ने गरेको छ । त्यस्तै, वन्यजन्तुका अंग नेपाल हुँदै चीनमा तस्करी भइरहेको छ । यस सम्मेलनमा नेपालका तर्फबाट यही विषय उठाउने प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।