१२ कार्तिक २०८३, बिहिबार

भारतीय दब्दबा बढिरहेका बेला चिनियाँ उच्च नेता नेपाल आउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chinese-leader-11-584f43b86d2252-29603359काठमाडौ, २८ मंसिर । चीनका एक उच्च नेता पुस ३ गते नेपाल भ्रमणमा आउने भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीका प्रचार बिभाग प्रमुख लिउ छिपाओको नेपाल भ्रमण हुन लागेको हो ।

एक उच्चस्तरीय चिनियाँ प्रतिनिधीमण्डलको नेतृत्व गरी उनी चार्टड प्लाइटबाट काठमाडौ उत्रिनेछन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन भएयता उत्तरी छिमेकी चीनबाट नेपाल आउन लागेका लिउ नै उच्च अधिकारी हुन् । तिन दिन काठमाडौमा रहंदा उनले राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री दाहालसँग भिन्दा–भिन्दै भेटवार्ता गर्नेछन् ।

उपप्रधानमन्त्री सरहको मर्यादामा रहेका उनलाई चीनमा ‘प्रोपागान्डा मिनिस्टर’ भनेर बढी चिनिन्छ । हाल चिनियाँ कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य रहेका उनले सन् १९७४ मा राजनीतिक करियर शुरु गरेका हुन् ।

पार्टीका बिभिन्न तहमा काम गर्दै उनी सन् २००७ मा चिनियाँ कम्युनिस्ट पार्टीको सिचुवान प्रान्तको सचिव नियुक्त भएका थिए ।

कुटनीतिक स्रोतका अनुशार चिनियाँ राष्ट्रपति सि जिनपिङ्को सम्भावित नेपाल भ्रमणको प्रारम्भिक तयारीका सिलसिलामा चिनियाँ उच्च नेता नेपाल आउन लागेका हुन् ।

दाहाल नेतृत्वको सरकारले पूववर्ति सरकारका पालामा भएका ऐतिहासिक पारवहन यातायात लगायत सम्झौता कार्यान्वयनमा देखाएको उदासिनताका कारण चीनका तर्फबाट उच्चस्तरीय भ्रमण हुन सकेको छैन ।

यद्यपी चिनियाँ पक्षले चिनियाँ राष्ट्रपतिको भ्रमणबारे औपचारिक रुपमा केही नबताएको जानकार स्रोतले बतायो ।

‘यदी पर्याप्त तयारी हुनसक्यो भने चिनियाँ राष्ट्रपति आगामी मार्चको अन्तिम साता या अप्रिल महिनामा नेपाल आउने सम्भावना प्रवल छ’ स्रोतले भन्यो ।

चिनियाँ अधिकारीहरुले अनौपचारिक कुराकानीका क्रममा चिनियाँ राष्ट्रपति नेपाल आउन अत्यन्त इच्छुक रहेको र आवश्यक तयारी अघि बढाउन गम्भीर गृहकार्य गर्न सुझाउन गरेको प्रधानमन्त्री निकट एक अधिकारीले बताए ।

प्रधानमन्त्री दाहालले यही बर्षको अन्त्यसम्म चिनियाँ राष्ट्रपति नेपाल आउन सक्ने केही समय अघि पत्रकारसंगको कुराकानीमा बताएका थिए ।