१२ कार्तिक २०८३, बिहिबार

घरेलु कामदारमा लेबनान पुगेर यस्तो ‘कार्य’ गरेपछि सुशीला र रोजमाया देश निकाला

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sujanaकाठमाडौं, २७ मंसिर । घरेलु कामदारको हैसियतमा आएर ‘अधिकारकर्मी’ को भूमिका निर्वाह गरेको र हाउसमेडलाई आश्रय दिएको अभियोगमा पक्राउ परेका काठमाडौंकी सुशीला (सुजना) रानालाई लेबनानले शनिबार राति नेपाल फिर्ता पठाएको छ । उस्तै आरोपमा पक्राउ परेकी धरानकी रोजमाया लिम्बूमाथि भने छानबिन जारी छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

राना ओमन हुँदै आइतबार दिउँसो २ बजे नेपाल आइपुगेकी छन् । लेबनानी सरकारले रानालाई डिपोर्ट गरी पठाउँदा त्यहाँका अधिकारवादीले अन्तर्राष्ट्रिय विमानस्थलमा विरोध प्रदर्शन गरेका थिए । लेबनानी अधिकारवादी मारिई डयुनाभले लेबनान सरकारको जनरल सुरक्षा मुख्यालयले गैरकानुनी र जबर्जस्ती रूपमा रानालाई डिपोर्ट गरी पठाएको बताइन् । ‘लेबनानको दासत्वविरुद्ध सुशीलाको प्रतिबद्धतालाई हामी धन्यवाद दिन्छौं,’ डयुनाभले आफ्नो फेसबुक स्टाटसमा लेखेकी छन्, ‘उनलाई बिदाइ गर्न मानव अधिकारवादीहरू विमानस्थलमा पुग्यौं ।’

रानाले विरोध बढेपछि फर्काउन खोजिए पनि स्वदेश नै फर्कन चाहेको कान्तिपुरलाई बताइन् । ‘म थप समस्यामा पर्न चाहिनँ,’ उनले भनिन् ।

रानाले लेबनानी नागरिक जर्ज अबु जैइद र घरेलु कामदारको तस्करी गर्ने एजेन्टहरूको मिलोमतोमा आफूहरूविरुद्ध उजुरी गरेको बताइन् । ‘जर्जले उजुरी गरेको मैले देखें । त्यहाँ जर्जको फोटो टाँसिएको थियो,’ उनले भनिन्, ‘हामीलाई लगाइएका आरोप झूटा थिए । मैले प्रमाणित गर्न प्रहरीलाई भनेको थिएँ । उनीहरूले प्रमाणित गरेनन् ।’

प्रहरीले राना र रोजीलाई नेपाली घरेलु महिला छिरिङ डोल्पा शेर्पा, नुना थापा र गीता माझीलाई घरबाट भगाएको र लेबनानको अधिकारीवादी संस्था काफालाई पीडित महिलाको सूचना दिएको आरोप लगाएको थियो ।

‘शेर्पा आफैं भागिसकेपछि नेपाल जान हाम्रो सम्पर्कमा आएकी थिइन् । काफाले उनीहरूको केस हेर्दै थियो । दलालहरूले आफ्नो पोल खुल्छ भनेर शेर्पालाई गायब बनाइदिए । नुना थापा मालिक्नीले यातना दिएपछि भागेकी हुन् । उनीलाई सेल्टरका लागि काफा जान सुझाव दिएको हुँ,’ उनले भनिन्, ‘पीडित नेपाली महिलालाई उद्धारका लागि सरसहयोग गर्नु गल्ती थिएन । तर मेरो हैसियत घरेलु कामदारमात्रै भएकाले स्थानीय कानुन उल्लंघन गरेको आरोप लगाइयो ।’