काठमाडौं, २५ मंसिर । डा बाबुराम भट्टराई र उपेन्द्र यादव फरक–फरक राजनीतिक दलसँग आबद्ध छन् । भट्टराई माओवादी राजनीति छाडेर नयाँ शक्ति नेपालको संयोजक छन् भने मधेस आन्दोलनबाट स्थापित बनेका यादव संघीय समाजवादी फोरमका अध्यक्ष छन् ।
भट्टराई र यादवले एकै किनारको तर दुई धारको राजनीतिक स्कुलबाट राजनीति करिअर सुरु गरेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
एकै किनार अर्थात् माक्र्सवादी चिन्तन दुवैको राजनीतिक स्कुल हो । भट्टराईले कांग्रेस नेता बिपी कोइरालाबाट प्रभावित भए पनि राजनीति माक्र्सवादी धारबाटै आरम्भ गरे । यादवले भने पुष्पलाल समूहबाट राजनीति सुरु गरे ।
यादव पुष्पलाल समूह हुँदै ०५४ सम्म एमालेको राजनीतिमा थिए । तर, भट्टराई आरम्भबाटै मसालको राजनीतिमा थिए । सुरुमा यी दुवै नेता एउटै किनारका दुई धार थिए वर्गसंघर्षको बुझाइमा ।
भट्टराई र यादवबीच उमेर र अध्ययनमा समानता छैन, न त राजनीतिक उचाइ पनि । तथापि दुवै निरन्तर चर्चा र शक्ति आर्जनमा केन्द्रित हुन चाहने राजनीतिकर्मी हुन् ।
नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच अहिले एकताका लागि प्रयास भइरहेको छ । दुवै पार्टी एक हुन खोज्नुलाई भट्टराई–यादवको शक्ति आर्जनको दाउ भन्ने विश्लेषण गर्न थालिएको छ ।
उपेन्द्रको माओवादी प्रवेश यात्रा
मोरङमा एमालेको राजनीतिमा सक्रिय भए पनि जीविकोपार्जनका लागि उपेन्द्र यादवले २०५४ सालसम्म शिक्षण पेसा अँगालेका थिए । उनी मोरङको जेसिस बाल सदनमा अध्यापन गर्थे । त्यही स्कुलमा अध्यापन गर्दागर्दै एमालेबाट उनी तत्कालीन नेकपा (माओवादी) स“ग जोडिन पुगेका हुन् ।
जतिवेला उनी घोषित रूपमा माओवादी भइसकेका थिएनन्, तर पनि उनलाई ‘सुरक्षा थ्रेट’ आइसकेको थियो । २०५४ सालपछि यादव माओवादीको बुद्धिजीवी संगठनमा आबद्ध भए । यादवले मोरङ जिल्ला बुद्धिजीवी संगठनमा रहेर काम गरेको नयाँ शक्तिका नेता रामरिझन यादवको भनाइ छ । यादवको माओवादीसँग संगत रहेको सुरक्षाकर्मीले जानकारी पाएपछि उनको सोधीखोजी सुरु भयो ।
‘उपेन्द्र यादव माओवादीको बुद्धिजीवी संगठनमा लागेको थाहा पाएपछि सादा पोसाकमा सुरक्षाकर्मी उपेन्द्रले पढाउने स्कुलमा छापा मार्न पुगेको थियो,’ रामरिझनले नयाँ पत्रिकासँग भने । सुरक्षाकर्मीको घेराबन्दीमा पर्न थालेको जानकारी पाएपछि यादव स्थानीय उषा यादवको घरमा एक रात लुकेर बसे । रातारात मोटरसाइलबाट उनलाई नेपालको सीमा कटाएको रामरिझन सम्झन्छन् ।
उपेन्द्रलाई माओवादीमा ल्याउने नेता हुन् मातृका
उपेन्द्र यादवलाई माओवादीको संगतमा ल्याउने र नेताहरूसँग भेटघाट गराउने काम भने माओवादी नेता मातृका यादवले गराएका हुन । यी दुई यादवको संगत लामो समयसम्म रह्यो । २०५४ सालदेखिको उनीहरूको संगत २०६५ सासम्म घनिष्ट नै थियो । मधेसी जनअधिकार फोरमको गठन गराउने भूमिका पनि मातृकाले नै गरेका थिए ।
‘सिपी गजुरेल र मेरो पहलमा फोरम गठन गराएर उपेन्द्रलाई माओवादीको संगतमा ल्याएका हौँ,’ मातृकाले नयाँ पत्रिकासँग भने । २०५६ सालमा उपेन्द्रले माओवादीको मुखपत्र जनादेश साप्ताहिकमा अन्तर्वार्ता दिएपछि औपचारिक रूपमा एमालेस“ग सम्बन्धविच्छेद भएको माओवादी नेताहरूको भनाइ छ ।
युद्धकालमा उपेन्द्र पूर्वी कमान्डअन्तर्गतको मेची–कोसी क्षेत्रीय ब्युरो सदस्य थिए । त्यतिवेला माओवादीका मधेसी नेताहरू मातृका यादव र जयकृष्ण गोइतको सम्बन्ध तिक्ततापूर्ण थियो । त्यसकै कारण मातृकाले उपेन्द्रलाई साथ लिएर हिँडेका थिए ।














प्रतिक्रिया