काठमाडौं, २५ मंसिर । चिसो बढ्यो, तर अपराधी समूहका लागि हिउँद भने तातो हुने गरेको छ । विशेष गरी उपत्यकालाई आधार बनाएर चोरी, डकैती र लुटपाट गर्ने समूहका लागि चिसो मौसम तातो हुने गरेको हो । गोरखापत्र दैनिकले समाचार छापेको छ ।
पुस र माघको कठ्याङ्ग्रिँदो चिसोमा उपत्यकावासी तातोको खोजीमा व्यस्त भएको मौका छोपी चोरहरू तात्ने गरेको प्रहरीको अनुभव छ ।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार गर्मीको मौसममा दिउँसो र चिसोमा राति चोरीका घटना बढी हुने गर्छन् ।
महाशाखा चोरी शाखा प्रमुख प्रहरी नायव उपरीक्षक प्रेम बस्नेत भन्नुहुन्छ, सर्वसाधारणको कमजोरी कारण चिसोमा चोरी बढी हुन्छ ।
चिसोमा न्यानोभित्र गुटमुटिन हतार गर्ने भएकाले झ्यालढोका राम्रोसँग नलगाउँदा यस्तो समस्या आउने गरेको हो ।
त्यस्तै, घर, फल्याट तथा कोठामा भन्दा पसल, सटर र कोही नभएको एकान्तस्थलहरूमा चोरी बढी हुने गर्छ, महाशाखाका प्रहरी नायव उपरीक्षक बस्नेतले भन्नुभयो, यसका लागि सर्वसाधारण नै सचेत हुन जरुरी छ ।
राति सुत्दा होस् वा बिहान बाहिर निस्कँदा घरको झ्यालढोका राम्रोसँग बन्द गर्नुपर्छ । चिसोमा सुन तथा चाँदीका गरगहना तथा नगद बढी चोरी हुने गरेको छ ।
यो बेला भारतको बिहारका विभिन्न जिल्लाबाट समेत सङ्गठित रूपमा चोरहरू काठमाडौँ उपत्यकामा आउने गर्छन् ।
चोरी घटनाका अनुसन्धान अधिकृत केदार तिमिल्सेना भन्नुहुन्छ, चोरी गरेपछि अपराधीहरू एकरात पनि राजधानी बस्दैनन् ।
देशभित्रका चोरहरू गाउँमा लुक्छन्, भारतबाट आएकाहरू मकवानपुर हेटौँडाको बाटो हुँदै पर्साको वीरगन्ज नाकाबाट भारत छिर्छन् ।
विहारको घोडासैन, मोतिहारी, फूलबारी, महाराजगन्ज लगायतका जिल्लाबाट आठ–दश जनाको समूह बनाएर नै सुन चोर्न नेपाल आउने गरेको महाशाखाले जनाएको छ ।
यसरी, नेपाल आउँदा उनीहरूले दुब्लो, पातलो र कलिलो उमेरका बालकलाई आफूसँगै ल्याउने गर्छन् । अनुसन्धान अधिकृत प्रहरी नायव निरीक्षक तिमिल्सेनाले गत वर्ष न्युरोडस्थित एक सुन पसलमा सटर फोडेर चोरी भएको घटना स्मरण गराउँदैे ठूलाहरूले रडले सटर हल्का माथि उठाउने र दुब्लो, पातलो र बालकलाई चोर्नभित्र छिराउने गरेको जानकारी दिनुभयो । यस्तो समूहले चोरी गर्नेबित्तिकै उपत्यका छोड्ने गरेको पाइन्छ ।














प्रतिक्रिया