१२ कार्तिक २०८३, बिहिबार

आन्तरिक उडानमा हवाई भाडा छ वर्षयताकै सस्तो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tia-domestic-airlinesकाठमाडौं, २२ मंसिर । आन्तरिक उडानतर्फको हवाई भाडा पछिल्लो ६ वर्षयताकै सस्तो भएको छ ।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि वायुसेवा कम्पनीहरूले गन्तव्यअनुसार ९० देखि ३ सय १० रुपैयाँसम्म भाडा घटाएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

पछिल्लो दुई महिनायता वायुसेवा सञ्चालक संघ र नागरिक उड्डयन प्राधिकरणको संयुक्त कार्यदलले मंगलबार दोस्रोपटक भाडा समायोजन गरेको हो ।

यो समायोजनसँगै हवाई भाडा पछिल्लो ६ वर्षयताकै कम भएको वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)का प्रवक्ता घनश्याम आचार्यले जानकारी दिए ।

इन्धनको मूल्य घटेपछि वायुसेवाहरूले यात्रुसँग लिने फ्युल सरचार्ज घटाउने गरेका छन् ।

नेपाल आयल निगमले सोमबार कायम गरेको नयाँ मूल्यअनुसार हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ८६ रुपैयाँमा झरेको छ ।

यसअघि ३ पुस ०६७ मा हवाई इन्धनको मूल्य प्रतिलिटर ८० रुपैयाँ रहेको थियो । सोही वर्ष २८ फागुनमा ९० रुपैयाँ प्रतिलिटर पुगेको हवाई इन्धनको मूल्य त्यसपछि भने निरन्तर वृद्धि भइरहेको थियो ।

हवाई इन्धनको मूल्यमा न्यूनतम ४ रुपैयाँसम्म थपघट भए सोही आधारमा सरचार्ज समायोजन गर्ने प्रचलन रहेको सिम्रिक एअरका बजार प्रबन्धक प्रज्ज्वल थापाले बताए ।

‘त्यस आधारमा यो भाडा ६ वर्षयताकै सस्तो हो’, उनले भने । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)को मंगलबार बसेको संयुक्त बैठकले बुधबारदेखि लागू हुने गरी फ्युल सरचार्ज घटाउने निर्णय गरेको हो ।

निगमले सोमबार आन्तरिक उडानका विमानले भर्ने इन्धनको मूल्यमा प्रतिलिटर ८ रूपैयाँ र अन्तर्राष्ट्रिय उडानका जहाजले भर्ने इन्धनको मूल्यमा प्रतिकिलोलिटर ८१ डलर कटौती गरेको थियो ।

पछिल्लो मूल्यअनुसार आन्तरिकतर्फ प्रतिलिटर ८६ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर सात सय ५० डलर कायम भएको आयल निगमले जानकारी दिएको छ ।