
काठमाडौं, २१ मंसिर । सूचना संकलनका नाममा हाकिमको निकट भएर सादा पोसाकमा काम गर्ने ‘घुमुवा प्रहरी’ हटाउन दुई वर्षअघि प्रहरी प्रधान कार्यालयले थालेको काम अलपत्र परेको छ ।
घुमुवा प्रहरीका कारण बदनाम भएको भन्दै सूचना संकलनका लागि इन्टेलिजेन्स ब्युरोअन्तर्गत परिचालन गर्ने योजना थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
अहिले पनि देशभरिका प्रहरी कार्यालयमा सादा पोसाकमा घुमुवा प्रहरी कार्यरत छन् । जो सूचना संकलन र अपराध अनुसन्धानभन्दा बढी हाकिमलाई खुसी बनाउन केन्द्रित हुने गर्दछन् ।
प्रहरीको अपराध अनुसन्धान विभागले बनाएको कार्ययोजनाअनुसार अहिलेसम्म देशभरिका घुमुवा हटिसक्नुपर्ने हो ।
विभागले तयार पारेको योजना सबैबाट स्वीकृत भई लागू गरिएको थियो । सूचना संकलन र मुद्दा शाखाका प्रहरीलाई अपराध अनुसन्धान समूह गठन गर्ने प्रक्रिया अघि बढेको थियो, जुन अलपत्र परेको छ।
अपराध अनुसन्धान विभागका एआइजी विज्ञानराज शर्मा भने घुमुवाहरूलाई हटाउनेभन्दा सुधार्ने काम भइरहेको बताउँछन् ।
‘घुमुवा भन्नेबित्तिकै अहिले नकारात्मक छवि छ’, शर्मा भन्छन्, ‘उनीहरूलाई प्रहरीको सूचना संकलक बनाउन एकातर्फ तालिम र अर्कातर्फ क्रसचेकका काम भइरहेका छन् ।’
देशभरिका सबैजसो प्रहरी कार्यालयमा सूचना संकलनका लागि सादा पोसाकमा प्रहरीहरू कार्यरत छन् ।
कतिपय स्थानमा उनीहरूले राम्रो काम गरे पनि केही स्थानमा सूचना संकलनभन्दा पैसा संकलनमा केन्द्रित हुने भएकाले घुमुवाहरू प्रहरीमा बदनाम छन् ।














प्रतिक्रिया