१२ कार्तिक २०८३, बिहिबार

संविधान संशोधनको विपक्षमा उभियो मधेसी मोर्चा, चुनाव पनि हुन नदिने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

puspakamal-dahal-morcha-meetingकाठमाडौं, १७ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले अघि बढाएको संविधान संशोधन विधेयक अस्वीकार गरेको छ ।

संशोधनले आफूहरूको मागको कुनै सुनुवाइ नै नगरेको र सरकारले आफ्नो इच्छा पूरा गर्न खोजेको भन्दै मोर्चाले अस्वीकार गरेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयकलाई समर्थन गर्दै स्थानीय निकायको चुनावमा सहभागी हुन राखेको प्रस्तावपछि मोर्चाले सो निर्णय सुनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार कांग्रेस, माओवादी केन्द्र र मोर्चाको संयुक्त बैठकमा प्रधानमन्त्री दाहालले संशोधन विधेयकलाई समर्थन गर्न र सरकारले अब गराउने स्थानीय तहको निर्वाचनमा सहभागी हुन प्रस्ताव गरेका थिए ।

‘अहिलेको राजनीतिक समीकरण र परिस्थितिले मधेसी मोर्चाका सबै माग सम्बोधन गर्न सम्भव छैन । जति सम्भव छ, त्यसलाई प्रस्तावमा ल्याइएको छ । यसलाई समर्थन गर्नुस् र स्थानीय तहको निर्वाचनमा जाऔं,’ बैठकमा प्रधानमन्त्री दाहालको भनाइ थियो । प्रधानमन्त्रीको सो प्रस्तावलगत्तै मोर्चाका नेताहरूले आफूहरूको माग रौंबराबर पनि सम्बोधन नगरी कसका लागि र किन संशोधन ल्याएको भन्दै प्रतिवाद गरेका थिए । बैठकमा मोर्चाका नेताले आÏना माग सम्बोधन हुने गरी संशोधन प्रस्ताव परिमार्जन नगरे स्वीकार नगर्ने घोषणासमेत गरेका थिए ।

मोर्चाका नेता एवं तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसी मोर्चाको ११ बुँदे र संघीय गठबन्धनको २६ बुँदे माग संविधान संशोधन विधेयकले सम्बोधन नगरेको भन्दै कुनै हालतमा स्विकार्न नसकिने बताए । मोर्चाको माग सम्बोधन नभएकाले संशोधन विधेयकलाई स्वीकार गर्न नसकिने र सरकारले गर्न लागेको निर्वाचनमा सहभागी पनि नहुने एवं निर्वाचन हुन पनि नदिने चेतावनी ठाकुरले दिएका थिए । ‘यो संशोधन विधेयकले मधेसको माग सम्बोधन गर्दैन, हामीले यसलाई कसरी स्वीकार गर्ने ? यसमा हाम्रो समर्थन हुन सक्दैन,’ ठाकुरले भने, ‘यसलाई हामीले स्वीकार पनि गर्दैनौं, सरकारले गराउने कुनै निर्वाचनमा सहभागी पनि हुँदैनौं र मधेसमा कुनै निर्वाचन पनि हुन दिँदैनौं ।’

बैठकको सुरुमै प्रधानमन्त्री दाहालले मधेसी मोर्चाकै माग पूरा गर्न संविधान संशोधन विधेयक संसद्मा दर्ता गरिएको बताएका थिए ।

फूहरूको चाहनामा नभई मोर्चाकै चाहनाअनुसार संशोधन ल्याइएकाले यसमा मधेसी मोर्चाले समर्थन गर्दै निर्वाचनमा जानुपर्ने प्रस्ताव प्रधानमन्त्रीले गरेका हुन् ।

‘तपाईंहरूकै माग सम्बोधन गर्न संविधान संशोधन विधेयक संसद्मा दर्ता गराएका छौं, यसमा तपाईंहरूले समर्थन गर्नुस्, अनि सरकारले गराउने निर्वाचनमा सहभागी पनि हुनुपर्छ,’ प्रधानमन्त्रीले मोर्चाका नेतासँग राखेको प्रस्ताव उद्धृत गर्दै नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले भने, ‘तपाईंहरूको सबै माग सम्बोधन हुन सक्दैन भन्ने कुरा तपाईंहरूलाई पनि थाहा छ, हामीले ल्याएको प्रस्ताव तपाईंहरूको माग सम्बोधन गर्ने गरी छ ।’

प्रधानमन्त्रीको सो भनाइलगत्तै मोर्चाका नेताहरूले आफूहरूको मागको सुनुवाइ नै नगरी सरकारले आफ्नो इच्छा पूरा गर्न मात्रै विधेयक ल्याएको बताएका थिए ।

बैठकमा आफ्नो धारणा राख्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी, आदिवासी, जनजातिको माग संशोधन विधेयकले पूरा नगरेको भन्दै मधेसी मोर्चा र संघीय गठबन्धनको मागअनुसार संशोधन विधेयक परिमार्जन गरेर दर्ता गराउन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।