१२ कार्तिक २०८३, बिहिबार

यसरी फैलिँदैछ ‘दाउद’को नेपालमा ‘कोकिन’को धन्दा, विदेशी नागरिक पक्राउ

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ६ मंसिर । नेपाललाई ट्रान्जिट बनाई यूरोप हुँदै हङकङसम्म लागूऔषधको तस्करी गर्ने अन्तर्राष्ट्रिय गिरोह फेरि सक्रिय हुन थालेको छ ।

नेपालको कमजोर सुरक्षाको फाइदा उठाउँदै अन्तर्राष्ट्रिय लागूऔषध गिरोह सक्रिय रहेको यस अघि नै सार्वजनिक भइसकेको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो(एनसीबी) ले भारतीय मुलकी मलेसियन नागरिक अलिस जोसेफ र मलेसियन नागरिक मागेनथिरन राजालाई एक किलो पाँच सय ग्राम कोकिनसहित ठमेल चाक्सीबारीमार्गस्थित एक होटबाट मंगलबार पक्राउ गरी सार्वजनिक गरेको छ । कालो झोलाभित्र फल्स बटम बनाएर लुकाइ ल्याएको उक्त कोकिन अलिसले मागेनथिरनलाई दिन लागेको अवस्थामा एनसीबीको टोलीले बरामद् गरेको हो ।

मंगलबार इत्तिहाद एयरबाट अपरान्ह ४ बजे नेपाल ओर्लिएकी अलिसमाथि एनसीबीले फलो गर्दै जाँदा ल्यापटम ब्यागमा फल्स बटममा उनले नेपाल ल्याएको डेढ किलो कोकिन बरामद गरेको हो । अलिसले बुक गरेको होटलको नजिकै बसेका मलेसियन नागरिक मागेनथिरन राजालाई कोकिन दिन लाग्दा उनीहरु पक्राउ परेका हुन् ।

एलिसले उक्त कोकिन नेपालमा ब्राजिलबाट ल्याएको खुल्न आएको एनसीबीका प्रमुख डिआइजी जयबहादुर चन्दले बताएका छन् । अलिस मलेसियाबाट आबुधाबी हुँदै ब्राजिलको साउपाउलो र फेरि आबुधाबी हुँदै नेपाल आएको समेत अनुसन्धानबाट खुलेको छ । नेपाल आएपछि अलिसले राजालाई कोकिन बुझाउने र राजाले हङकङ लैजाने योजना बनाएको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । राजा भने १३ गते नेपाल आएका थिए ।

पक्राउ परेका दुवै जना भरियामात्र भएको खुलेको छ । उनीहरुलाई मलेसियाबाट तारा नामक गरेकी महिलाले खटाएको अनुसन्धानबाट खुलेको छ । राजाले हङकङमा म्याक्स नाम गरेका व्यक्तिलाई कोकिन बुझाउने योजना रहेकोमा उनीहरु नेपालमा नै प्रहरी फन्दामा परिसकेका छन् । नृत्य पेशामा संलग्न राजा नेपालमा नृत्य सामाग्री खरिद गर्न आएका थिए ।

तर, उनलाई किरु बन्थानले डेकोरेसनको सामान भनेर ब्याग लिएर हङकङ आउ भन्दै ६ सय डलर पठाएको अनुसन्धानबाट खुलेको छ । राजा १४ गते ड्रागन एयरमार्फत हङकङ उड्ने योजनामा थिए । एनसीबीले उनीहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम म्याद थप गरी अनुसन्धान थालेको छ । बरामद भएको कोकिनको अन्तर्राष्ट्रिय बजार मूल्य ३ करोड बराबरको रहेको ब्यूरो प्रमुख चन्द बताउँछन् ।

कोकिनमा पाकिस्तानी माफिया र दाउद

एनसीवीले यसअघि पनि दुई किलो छ सय ग्राम कोकीन र १३ लाख भन्दा बढि रकमसहित नाइजेरियन, भारतीय र नेपाली नागरिकको गिरोहलाई पक्राउ गरि सार्वजनिक गरेको थियो । यसमा हङकङमा बसेर लागूऔषध कारोबारमा संलग्न केही व्यक्तिको पहिचान भएको एनसीवीले जनाएको थियो । अहिले पनि उक्त गिरोह नै संलग्न रहेको एनसीबीका एक अधिकारीले बताए ।

पाकिस्तानी नागरिक वाहिद खान, चाचा भन्ने अब्दुल रजाक र उनका भाइले हङकङबाट ड्रग्सको धन्दा चलाउँदै आएका छन् । भारतीय मस्ट वाण्टेड सुचिमा रहेका अन्डरवल्र्ड डन दाउद इब्राहिम समूहका सदस्य मध्येका टाइगर, राजाभाइ र चाचाले दुबई, मलेसिया र हङकङबाट कारोबार सञ्चालन गर्दै आएका छन् । जाली नोट हुँदै कोकिन कारोबारमा समेत दाउदको कनेक्सन देखिएको यसअघि नै भारतीय मिडियाहरुले जनाएका थिए ।

ब्यूरोले भेनेजुयलाकी यमरिस कारमिन, भारतका तौहिद खान, नाइजियरियाका मोहम्मद लामिनी र नेपालका दिलबहादुर गुरुङलाई पक्राउ गरेको थियो । वैशाख १५ गते भेनेजुयलाको काराकास, कोलम्वियाको बोगाटा, ब्राजिलको साउ पाउलबाट युएइ हुँदै भेनेजुयलाकी यमरिस कारमिन नेपाल आएकी थिइन ।

ठमेलका विभिन्न गेष्टहाउसमा बस्दै आएकी उनी दुबई ब्राजिल, कोलम्बिया हुँदै भेजेजुयला जान खोजिरहेको बेला ब्यूरोको फन्दामा परेकी थिइन् । नाइजेरियन नागरिक तर, गिनीको राहदानीवाहक मोहम्मद लामिने डोबालाई यमरिसले कोकिन दिएपछि प्रहरीले सुइको पाएर अनुसन्धानलाई तिब्रता दिएको थियो ।

यो गिरोहमा संलग्न रहेको भन्दै तनहुँ घर भइ काठमाडौं रानीवारी बस्ने दिलबहादुर गुरुङलाई एनसीवीले पक्राउ गरेको थियो । गुरुङ लागू औषध चरेश हङकङ, थाइल्याण्ड र भारतमा ओसारपसार गर्ने मुख्य व्यक्ति हुन् ।

उनले हालसम्म २६ पटक भन्दा बढी आफैँ थाइल्याण्ड र हङकङ पुगेर चरेश ओसारपसार गरिसकेका छन् । खान पनि हङकङमा बसी लागू औषध कोकिन र चरेसको कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहका मुख्य ब्यक्ति हुन् ।