हुम्ला । कुनै बेला प्रहरीको जुत्ता सिलाउने काम गर्ने रामबहादुर दमाई यतिबेला सिक्का बाबा भएका छन् ।
कास्कीको हेम्जा गाविसका उनै राम बहादुर अहिले सिक्का बाबाको रुपमा देश चहारिरहेका छन् ।
नेपालगञ्जबाट मकालु एअरको विमानमा बिहिवार सिमकोट झरेका ४४ बर्षीय सिक्का बाबाले आफ्नो पोशाकमा १ सय ८० देशका सिक्काहरु टाँसेका छन् । संबिधान र बिश्व शान्तिको सन्देश दिने उद्देश्यले नेपालका बिभिन्न जिल्लाहरुको भ्रमण गरिरहेको उनले बताए । नेपालमा संबिधान निर्माण हुन नसक्दा दुःख लागेको समेत उनले बताएका छन् ।२०६९ असोज २४ गते बाट कास्की जिल्लाबाट उनले आफ्नो भ्रमण शुरु गरेका थिए ।
बिश्व शान्तिको सन्देश दिँदै १७ बर्ष भित्र बिश्व भ्रमण गर्ने लक्ष्य लिएर कास्कीबाट भ्रमण शुरु गरेका सिक्का बाबा ६९ जिल्ला पुगिसकेका छन् । ७ बर्ष भित्र सिंगो नेपाल भ्रमण गरि सक्ने उनको लक्ष्य भए पनि २ बर्ष भित्र नेपालको भ्रमण सकिने उनले बताए । नेपाल भ्रमण सकिएपछि बिश्व भ्रमणमा लाग्ने समेत उनले बताए । अहिलेसम्म १८० देशको सिक्का टाँसेका उनले भेट्टाएसम्म सबै देशका सिक्का आफ्नो लगाउने लुगामा टाँस्ने बताएका छन् । अभियानमा लाग्नु भन्दा पहिले प्रहरीको जुत्ता सिलाउने काम गर्ने ४४ बर्षिय सिक्का बाबा आफूले देखेको सपनाबाट प्रेरित भई यो अभियान थालेको बताए ।
शुरुमा पुरानो सिक्का खोज्दा आफ्नो केही खर्च भए पनि अहिले बिभिन्न जिल्लामा पुग्दा बिभिन्न निकाय र व्यक्तिहरुले सहयोग गरेकाले भ्रमण खर्च जुटिरहेको बताएका छन् । उनलाई सिक्का पनि बिदेशमा भएकाहरुले पठाइदिने गरेको बताएका छन् । ६२ देशका सिक्का काठमाडौंमा आइसकेको भए पनि उनी भ्रमणमा रहेकाले टाँसेका छैनन् ।
पोशाकमा टाँसिएका सिक्काको तौल १५ केजी रहेको उनले दावी गरेका छन् । १९ औं महिनामा ६९ औं जिल्ला भ्रमण गर्ने क्रममा हुम्ला पुगेका सिक्का बाबा बाग्मतीका ८ जिल्ला मध्ये ५ जिल्ला र कर्णाली अञ्चलको मुगु पुग्न बाँकी रहेको समेत जानकारी दिएका छन् । बिहिवार र शुक्रवार हुम्लाका बिभिन्न निकायमा भेटघाट गरि शनिवार हुम्लाबाट मुगु जाने बताएका छन् ।














प्रतिक्रिया