२८ आश्विन २०८३, बुधबार

युक्रेनमा युद्धविराम लागु, रसियाविरुद्ध पश्चिमी मुलुको प्रतिबन्ध बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

The countryside in eastern Ukraine is littered with the debris of fierce fighting– एएफपी

किभ, २१ भदौ । युक्रेन तथा क्रेमलिन समर्थक विद्रोहीहरूले शनिबार उनीहरूबीच भएको युद्धविराम पालना गरेको देखिएको छ । यसले पाँच महिनासम्म चलेको रक्तपात अन्त्य गराउनसक्नेछ ।

यसो भए पनि पश्चिमी मुलुकले रसियामाथि प्रतिबन्ध बढाएका छन् र युक्रेनको पूर्वी भागमा देखिएको पृथकतावादी अभियान रोकिने कुनै सङ्केत देखिएको छैन ।

शुक्रबार बेलारुसको राजधानी मिन्स्कमा १२ बुँदे सम्झौतामा हस्ताक्षर भएको छ । यसलाई क्रेमलिन तथा किभले समर्थन जनाएका छन् । अप्रिल महिनामा रसियाली भाषा बोल्ने लडाकूहरूले युक्रेनको औद्योगिक क्षेत्रमा सरकारी भवनहरू आफ्नो नियन्त्रणमा लिएका थिए ।

यस विषयमा पश्चिमी नेताहरूले ध्यान दिएका छैनन् र उनीहरूले विद्रोहीलाई सहयोग गरेको भनी रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई दण्डित गर्न चाहन्छन् र रसियामा राज्यद्वारा सञ्चालित सबैभन्दा महत्वपूर्ण संस्थामा प्रतिबन्ध लगाएका छन् ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले यसअघि लगाइएको तथा पछि लगाइने भनी चेतावनी दिइएको प्रतिबन्धका कारण यो युद्धविराम भएको दाबी गरे ।

पछिल्ला दिनमा विद्रोहीले महत्वपूर्ण फाइदा प्राप्त गरेको देखिएको छ । यसअघिको प्रतिबन्धलाई रसियाले ध्यान दिएको देखिएको छैन भने यस युद्धविरामले पूर्वी भागमा विद्रोहीलाई रोक्नसक्ने निकै कम सङ्केत देखिएको छ ।

वासिङटन तथा युरोपेली महासङ्घले रसियालाई राजश्व उठाउन निकै सहयोग गर्ने ऊर्जा तथा प्रतिरक्षाको क्षेत्रलाई पश्चिमी मुलुकमा कोष उठान नसक्ने गरी लक्षित बनाइ समन्वयात्मक रूपमा पाइला लिएका छन् ।

राष्ट्रपति ओबामाले रसियालाई शान्ति योजनामा अगाडि बढ्न लगाउन थप प्रतिबन्ध आवश्यक भएको बताए छ । यसो भए पनि यसअघिका प्रतिबन्धबाट पश्चिमी मुलुकलाई कमै सफलता प्राप्त भएको थियो ।

युरोपेली कूटनीतिज्ञहरूले यो प्रतिबन्ध औपचारिक रूपमा सोमबारदेखि लागु हुने जानकारी दिएका छन् ।

वेल्समा भएको नेटोको शिखर बैठकमा पूर्वी युरोपका लागि हजारौँ सैनिक रहेने एक नेतृत्वदायी बल स्थापना गर्ने विषयमा सहमति भएको छ । नेटोका प्रमुख आन्द्रेस फग रासमुुसेनले यसले नेटोले आफ्ना सबै सहयोगीलाई सबै समयमा प्रतिरक्षा दिनेछ भन्ने स्पष्ट सन्देश दिएको बताए ।

बेलायतले यस बलमा तीन हजार ५०० सैनिक तथा विमानवाहक जहाज पठाउने पुष्टि गरेको छ । प्रधानमन्त्री डेविड क्यामरुनले नेटोले छिटो प्रतिक्रिया दिनसक्ने हुनुपर्ने बताए ।

वर्तमान युद्धविरामको खाका रसियाली राष्ट्रपति पुटिनले यसै साता टेलिफोन वार्तामा युक्रेनी समकक्षी पेत्रो पोरोसेन्कोलाई उपलब्ध गराउनुभएको बताइएको छ । यसले पृथकतावादीलाई युक्रेनको करिब १७ प्रतिशत जनसङख्या र एक चौथाइ निर्यातमा प्रभाव पार्ने क्षेत्रमा नियन्त्रण दिनेछ ।

यसै साता विद्रोहीले नाटकीय रूपमा युक्रेनी सेनामाथि प्रत्याक्रमण गर्न थालेपछि यो सम्झौता तयार भएको हो । नेटोले विद्रोहीलाई रसियाली सेनाले सहयोग गरेको आरोप लगाएको छ ।

युरोपेली सुरक्षा संस्था ओएससीईले गराएको यस सम्झौतालाई दुबै पक्षले स्वीकार गरेका छन् र उनीहरूले आफ्ना सेना फिर्ता लैजाने र शनिबार बन्दी आदान प्रदान गर्ने बताएका छन् ।

सम्झौता अनुसार रसियाले समस्याग्रस्त नगरहरूमा मानवीय सहयोग उपलब्ध गराउनेछ । यस्तो सहयोगलाई पहिले किभले अस्वीकार गरेको थियो । उसले सहयोगको स्थानमा हतियार आउनसक्ने आशङ्का गरेको थियो ।

वास्तवमा किभसँग यस सम्झौतालाई आफ्नो चाहनाअनुसार खेल्नसक्ने कमै स्थान रहेको देखिएको छ । युक्रेनका प्रधानमन्त्री आर्सेनी यात्सेन्युकले किभले रसियासँग एक्लै केही पनि काम गर्न नसक्ने भएकाले उसलाई अमेरिकी तथा युरोपेली महासङ्घको सहयोग आवश्यक भएको बताए ।

अमेरिकी प्रतिरक्षा मन्त्रालय पेन्टागनले १० हजार रसियाली सेना युक्रेनको सीमामा तैनाथ भएको देखिएको र उनीहरू हालसम्मको सबैभन्दा घातक हुनसक्ने दाबी गरेको थियो ।

क्रेमलिनले वासिङ्टन तथा उसका सहयोगीले रसियाको यस युद्धमा आफ्नो संलग्नताको प्रमाण तयार गरिरहेको आरोप लगाएको छ ।

रसियाली राष्ट्रपति पुटिनका प्रवक्ताले यो युद्धविराम पूर्णतया लागु हुनुपर्नेमा जोड दिएका छन् ।

यस युद्धमा दुई हजार ८०० भन्दा बढी युक्रेनी जनताको ज्यान गएको छ र लाखौँ व्यक्ति घर छोडी भागेका छन् । दर्जनौँ नगर नष्ट भएका छन् । युक्रेनको शक्तिशाली कारखाना तथा कोइला खानी बन्द भएका छन् । विद्रोही दूत इगोर प्ल्तनित्स्कीले यस युद्धविरामले युक्रेनबाट पृथक हुने आफ्नो लक्ष्यलाई प्रभाव नपार्ने बताए ।

ओएससीईका अधिकारीहरूले विद्रोहीले घोषणा गरेको दोनेत्स्क तथा लुगान्स्क गणतन्त्रका विषयमा मिन्स्कमा छलफल नभएको बताए ।

युक्रेनी राष्ट्रपति पोरोसेन्कोले जुन महिनामा एक पक्षीय रूपमा घोषणा गर्नुभएको युद्धविराम विद्रोहीको राजनीतिक नेतृत्वले स्वीकार गरे पनि र त्यसलाई मस्कोले समर्थन गरे पनि लडाकूहरूले आक्रमण आरम्भ गरेपछि १० दिनमा धराशायी भएको थियो ।