काठमाडौं, १२ मंसिर । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले एमबीबीएसको शुल्क उपत्यकामा ३५ लाख रुपैयाँ निर्धारण गरेको छ ।
उपत्यकाबाहिर भने ३८ लाख ५० हजार रुपैयाँसम्म लिन पाइनेछ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
बीडीएसको शुल्क देशैभरि १७ लाख ५६ हजार ९ सय २० रुपैयाँ तोकिएको छ ।
मेडिकल कलेजहरूले ६२ लाख रुपैयाँसम्म लिएर भर्ना गरिसकेपछि आईओएमले शुल्क निर्धारण गरेको हो । गत वर्ष निर्धारित शुल्क यस वर्ष पनि कार्यान्वयन गर्न आईओएम डिन कार्यालयले शनिबार सूचना जारी गरेको छ । काठमाडौं विश्वविद्यालयले भने शुल्कसम्बन्धी निर्णय गरेको छैन ।
आईओएमका अनुसार निर्धारित शुल्क तीन किस्तामा तिर्नुपर्ने छ । भर्ना गर्दा पहिलो किस्ता निर्धारित शुल्कको ५० प्रतिशत, दोस्रो किस्ता २५ प्रतिशत र तेस्रो किस्तामा २५ प्रतिशत भुक्तानी गर्नुपर्ने आईओएमको सूचनामा उल्लेख छ ।
‘सरकारबाट शुल्कसम्बन्धी अन्यथा निर्णय भई आएको अवस्थामा सोही निर्णयलाई आधार मानी निर्णय गरिनेछ’, सूचनामा भनिएको छ ।
यो शुल्क महाराजगन्ज मेडिकल क्याम्पस, चितवन मेडिकल कलेज भरतपुर, गण्डकी मेडिकल कलेज जनकपुर, जानकी मेडिकल कलेज जनकपुर, किस्ट मेडिकल कलेज ललितपुर, एमबी केडिया डेन्टल कलेज वीरगन्ज, नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्स काठमाडौं, नेसनल मेडिकल कलेज वीरगन्ज, पिपल्स डेन्टल कलेज काठमाडौं, युनिभर्सल कलेज अफ मेडिकल साइन्स भैरहवामा लागू हुनेछ ।
नेपाल मेडिकल काउन्सिलले यी कलेजमा एमबीबीएसमा ८० देखि १ सय १५ र बीडीएस (डेन्टल) मा ५० सिट निर्धारण गरेको छ ।














प्रतिक्रिया