काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले वंशजका आधारमा नागरिक बनेको व्यक्तिमात्र राष्ट्रप्रमुख, सरकारप्रमुख तथा संवैधानिक पदमा नियुक्त हुनसक्ने संवैधानिक प्रावधान कायमै राखेर संविधान संशोधन प्रस्ताव संसदमा दर्ता हुने बताएका छन् ।
‘प्रमुख तथा संवैधानिक पदमा अंगीकृत नभएर वंशजका आधारमा मात्र नियुक्ति हुनेछु, उनले शुक्रबार भने । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
कास्की माओवादी केन्द्रको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले सरकारले अंगीकृत नागरिकलाई पनि राष्ट्रपतिदेखि मुख्यमन्त्रीसहितका संवैधानिक पदमा नियुक्त गर्नसक्ने गरी तयार गरेको अनौपचारिक मस्यौदा सार्वजनिक भएपछि आएको जनदबाब र राजनीतिक दलको असन्तुष्टिका कारण वंशजकै व्यवस्था कायम राखिएको प्रधानमन्त्रीले बताएको जानकारी स्रोतले दियो ।
सरकारको उक्त अनौपचारिक मस्यौदाको मधेसी मोर्चाकै केही नेताले खुलेरै विरोध गरेका थिए । गत कात्तिक १९ गते शुक्रबार सत्तागठबन्धनका प्रमुख घटक माओवादी केन्द्र र कांग्रेसले अंगीकृत नागरिकलाई संवैधानिक पद दिन तयार रहेको पत्र मधेसी मोर्चाका केही नेतालाई पठाएका थिए ।
अन्तरिम संविधान २०६३ मा रहेको तर संविधानसभाबाट गत वर्ष जारी संविधानबाट हटाइएका प्रावधान पुनस्र्थापित गर्न तयार भएको आशयसहितको अनौपचारिक पत्र सरकारले मोर्चालाई पठाएको थियो ।
प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले भने, ‘संविधान संशोधनका विषयमा बजारमा अनेकौं हल्ला चल्ने गरेका छन् । ती हल्ला सत्य होइनन् । सरकारले संविधान संशोधन प्रस्तावको तयारी गरिरहेको छ तर राष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्मका सबै पदमा वंशज नागरिकमात्र निर्वाचित हुन पाउने व्यवस्था हुन्छ, अंगीकृतले पाउँदैनन् ।’














प्रतिक्रिया