१२ कार्तिक २०८३, बिहिबार

दाहाल-ओलीवीच बिहीबार साँझ यसरी भयो चर्काचर्की (संवादसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pmकाठमाडौं, १० मंसिर । संविधान संशोधनको तयारीको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीबीच बिहीबार साँझ चर्काचर्की भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा ओलीसहितका एमाले नेतालाई भेट्दै दाहालले प्रदेश नम्बर ५ बाट तराई र पहाड छुट्टाएर मधेसी मोर्चाको माग सम्बोधन गर्न चाहेको उल्लेख गर्दै संविधान संशोधन प्रस्ताव लैजाने तयारी पुरा भइसकेकोले धेरै विरोध नगर्न आग्रह गरेका थिए ।

जवाफमा ओलीले सीमांकन हेरफेरको अधिकार संविधानको धारा २४४ अनुसार अब बन्ने प्रदेश सभालाई मात्रै भएकाले संसदसँग त्यो संवैधानिक हैसियतनै नभएको जिकिर गरेका थिए ।

सरकारले सीमांकन चलाउन खोजे त्यसविरूद्ध अदालत जाने चेतावनी समेत ओलीले दिएका थिए ।

सके समर्थन गर्नुस्, नसके चर्को विरोध नगरिदिनुस् :प्रधानमन्त्री

सशक्त विरोध गर्छौं : ओली

प्रधानमन्त्री : तपाईंहरूले विरोध गरे पनि अब संविधान संशोधन प्रस्ताव दर्ता गरेर अगाडि जाने भइयो, सके सहमतिमा आएर समर्थन गर्नुहोस्, त्यसो गर्नुहुन्न भने पनि चर्को विरोधमा नआइदिनुहोस् ।

ओली : तपाईं नयाँ द्वन्द्वको बीजारोपण गर्दै हुनुहुन्छ। तपाईं त्यसरी अगाडि नबढ्नोस्, यदि अगाडि बढ्नुभयो भने त्यसले नयाँ खालको द्वन्द्वको बीजारोपण गर्छ। हामी त्यस्तो प्रस्तावलाई समर्थन गर्न सक्दैनौँ। त्यसलाई कसरी असफल पार्ने भन्ने सबैखाले प्रयास गर्छौँ। त्यस्तो प्रस्तावविरुद्ध आन्दोलन सशक्त बनाएर अघि बढ्छौँ ।

प्रधानमन्त्री : मैले मोर्चालाई पनि सोधेँ, तपाईंहरू के गर्नुहुन्छ भनेर। ‘तपाईंहरूको समर्थन हुन्छ भने दर्ता गर्छु, नभए गर्दिनँ। मैले दर्ता गर्ने, तपाईंहरूले समर्थन नगर्ने, प्रस्ताव पनि पारित नहुने स्थितिमा मैले नैतिकताका आधारमा पद छाड्नुपर्ने हुन्छ भन्दा उहाँहरूले समर्थन गर्छौँ’ भन्नुभयो ।

ओली : देशलाई बर्बाद गर्ने र तपाईंलाई पनि समाप्त पार्ने प्रस्तावमा त उहाँहरूले पनि समर्थन गरिहाल्नुहुन्छ नि ।