काठमाडौं, १० मंसिर । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय हितमा तलमाथि गर्ने प्रयास भइरहेको दाबी गर्दै ‘आन्दोलनको आँधीबेहरी’ सिर्जना गर्नका लागि तयार रहन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
अन्य राजनीतिक दलका नेताहरूसमेत सहभागी गराएर एमालेकै भ्रातृ संगठन युवा संघ र अनेरास्ववियुले बिहीबार प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको संविधान संशोधनसम्बन्धी बहसमा ओलीले संविधान संशोधन विधेयक दर्ता गरेर देखाउन सरकारलाई चुनौतीसमेत दिए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
‘एमालेका सबै कमिटी जनवर्गीय संगठनसहित आम जनसमुदाय राष्ट्रियताको पक्षमा चनाखो हुनुहोस्,’ ओलीले भने, ‘कुनै पनि समय राष्ट्रिय हितमा तलमाथि हुन नदिन आन्दोलनको आँधीबेहरी सिर्जना गरेर राष्ट्रलाई जोगाउनुपर्ने हुन सक्छ, त्यसका लागि तयार भएर बस्नुहोस् ।’
वर्तमान सरकार नै प्रायोजित ढंगले बनेको र यो सरकार निर्माणको उद्देश्य नै घातक रहेको भन्दै ओलीले त्यही मिसन पूरा गर्न संविधान संशोधन गर्न लागिएको उल्लेख गरे । ‘तर, याद रहोस् संसदमा हामी पनि छौं,’ उनले भने ।
मुलुकलाई संविधान संशोधन नभई निर्वाचन चाहिएको भन्दै ओलीले त्यतातर्फ ध्यान नदिई संशोधनको कुरा मात्र गर्नु गलत भएको बताए । ‘संविधानमा कतिपय कुरा नमिलेका छन्, मिलाउनुपर्नेछ, ती काम गर्न सकिन्छ तर मुख्य काम त निर्वाचनसम्बन्धी कानुन ल्याउने, निर्वाचन क्षेत्र निर्धारण आयोग बनाउने हो । यी कामका लागि त एक पाइलो पनि अघि सारिएको छैन,’ ओलीले भने, ‘संविधान संशोधन गर्नुपर्ने थियो भने पनि यी काम गर्दै गर्न सकिन्थ्यो नि ।’
उनले गत वर्ष गरिएको संविधानको पहिलो संशोधन पनि आवश्यकता नभई बाध्यता भएको बताए । ‘त्यो संशोधन अर्थहीन भयो, अहिले पनि त्यस्तै हुन्छ,’ उनले भने, ‘उहाँहरूले केही वाचा कबुल गर्नुभएको छ । आदेश अरूकै हो, कुराचाहिँ देशका गर्ने ? नत्र केका लागि संशोधन गर्ने ? देशलाई कहाँनिर फाइदा हुन्छ ? के–के हुन् तराईका समस्या ? मान्नुपर्नेचाहिँ के ?’














प्रतिक्रिया