काठमाडौं, ९ मंसिर । गत भदौ १४ गते जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका गुण्डा नाइके दीपक मनाङ्गेले दुई महिनामै रहस्यमय तरिकाले सफाई पाएपछि प्रहरी अधिकारीहरु आश्चर्य चकित बनेका छन् ।
जिल्ला अदालत काठमाडौका न्यायाधीश ऋषिकेश वाग्लेको एक इजलाशले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर, कार्तिक १२ गते नै उनले जिल्ला अदालतबाट सबै मुद्दामा सफाई पाएका हुन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
तिहारको विदाको अघिल्लो दिन गुपचुप रुपमा सफाइ पाएका मनाङ्गे हल्ला हुने डरले केही समय भूमिगत बसेर तरुण दलको चुनावमा भने पोखरा पुगेका थिए । मनाङ्गेले सफाई पाए पनि उनका क्रियाकलापमाथि भने प्रहरीले सुक्ष्म ढंगले निगरानी गरिरहेको काठमाडौं प्रहरी परिसरका एक अधिकारीले बताए ।
मनाङ्गलेलाई काठमाडौं प्रहरीको विशेष टोलीले गत असार १६ गते धम्क्याएर असुल गरेको रकमसहित राजधानीको ठमेलबाट पक्राउ गरेको थियो भने अपहरण, शरीर बन्धक उद्योग तथा संगठित अपराधको मुद्दा चलाएको थियो ।
अदालतले मनाङ्गेसँगै पक्राउ परेका उनका सहयोगी राजकुमार सिंहलाई समेत पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । परिसर प्रमुख एसएसपी विक्रमसिंह थापाले पहिलो पटक गुण्डा नाइकेलाई संगठित अपराधमा मुद्दा चलाएर सफलता हासिल गरेका थिए ।
जसका कारण काठमाडौंमा गुण्डाहरुको भागदौड समेत भएको थियो । तर, अदालतबाट यसरी धमाधम सफाई पाउन थालेपछि गुण्डाहरुको मनोबल बढ्ने खतरा पैदा भएको छ ।
जिल्ला अदालतबाट पटक–पटक म्याद लिएर प्रहरीले मनाङ्गेमाथि ६० दिनसम्म अनुसन्धान गरेर सरकारी वकिल कार्यालय काठमाडौंलाई फाइल बुझाएको थियो ।
पछिल्लो समय शरीर बन्धक राखेर फिरौती असुल्ने काममा सक्रिय मनाङ्गेको क्रसर उद्योग, घरजग्गा र जडिबुटिमा लगानी रहेको छ । मनाङ्गेको अवैध सम्पत्ति लुकाउँदै आएका गुण्डा नाइके उमेश लामालाई भने अपराध महाशाखाले पक्राउ गरेको थियो । उनी पनि धरौटिमा छुटिसकेका छन् ।














प्रतिक्रिया