१२ कार्तिक २०८३, बिहिबार

संशोधन विधेयकका कारण प्रधानमन्त्री पद खतरामा !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachandaकाठमाडौं, ९ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पदमा खतरा नपुग्ने सर्तमा मात्र संसदमा संशोधन विधेयक पेस गर्ने अडान लिएका छन् ।

प्रस्ताव अस्वीकार्य भएको अवस्थामा राजीनामा गर्नुपर्ने परिस्थिति आउने हुँदा त्यसअघि नै संशोधन विधेयकको बुँदामा मधेसी मोर्चाको अनुमोदन हुनुपर्ने नयाँ सर्त उनले बुधबार मधेसी दलहरूसँगको वार्तामा राखे । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

मधेसी मोर्चालाई सहमतिमा ल्याई संसद्मा संशोधन प्रस्ताव दर्ता गर्ने उद्देश्यसाथ बुधबार बसेको मोर्चा–सत्ता गठबन्धन बैठकमा प्रधानमन्त्री दाहालले भने, ‘प्रमुख प्रतिपक्षी एमालेले संशोधन प्रस्ताव अस्वीकार गरिसकेको छ ।

अहिले मोर्चाका केही नेताले सर्त थप्दै गएका छन् । यस्तो परिस्थितिमा मैले संशोधन प्रस्ताव ल्याउन सक्दिन । प्रस्ताव असफल भए मैले नैतिक रूपमा प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ ।’

दाहाललाई उद्धृत गर्दै राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले भने, ‘मधेसी मोर्चासँग भएको तीनबुँदे सहमतिका आधारमा आउने संशोधन प्रस्ताव असफल भए मैले प्रधानमन्त्री पदबाट राजीनामा गर्नुपर्ने परिस्थिति सिर्जना हुन्छ भने अर्कोतर्फ मेरो पार्टी ठूलो राजनीतिक संकटमा फस्छ ।’

बैठकमा दाहालले आफूलाई नैतिक बन्धनमा पार्ने गरी कुनै कामको आशा र विश्वास सहयाात्री दल र नेताहरूबाट नगरेको बताएका थिए । दाहालले भने, ‘मोर्चाको एकीकृत सहमति आएलगत्तै संशोधन प्रस्ताव दर्ता हुन्छ ।’

बैठकमा तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सीमांकन मिल्ने गरी संशोधन नआए प्रस्ताव स्वीकार्य नहुने बताएका थिए । सीमांकन मिलेमात्र निर्वाचनमा सहभागी हुन सकिने ठाकुरले बताए ।