नयाँ दिल्ली । मलेसियाको निजी क्षेत्रको हवाई सेवा कम्पनी एयर एसियाले भारतीय विमान कम्पनीसँग साझेदारीमा सेवा सञ्चालन गर्न पाउने भएको छ ।
लामो समयदेखिको खिचातानी र खिचडी पाकेपछि भारतीय सरकारले उक्त कम्पनीलाई साझेदारीमा भारतीय भूमिमा हवाई सेवा सञ्चालन गर्ने अनुमति दिएको छ ।
भारतमा ख्यातिप्राप्त व्यापारिक घराना टाटा समूह र टेलेस्ट्रा ट्रेडप्लेस प्रालि तथा एयर एसियाको साझेदारीमा नयाँ खडा हुने कम्पनीको नाम ‘एयर एसिया इन्डिया’ रहने भएको छ ।
भारतीय यात्रुहरुको मलेसियाली गन्तव्यतर्फ रहेको बढ्दो चापलाई ध्यानमा राखेर सस्तो र सहुलियत दरमा हवाई सेवा प्रदान गर्ने उद्देश्यले साझेदारीमा उक्त नयाँ कम्पनी खडा भएको जानकारी दिइएको छ ।
भारतीय हवाई विभागका प्रमुख प्रभातकुमारले सञ्चारमाध्यमलाई बताउनुहुँदै एयर एसिया इन्डियालाई हाल उडान अनुमति दिइएको र यसलाई भारतीय सर्वोच्च अदालत समर्थन गरेपछि मात्र लागू गर्न सकिने बताउनुभएको छ ।
मलेसियामा बहुसंख्य व्यापारी र उद्योगपतिहरु भारतीय नागरिक वा भारतीय मूलका व्यक्तिहरु भएकाले यस समूहले यस नयाँ विमान कम्पनीलाई समर्थन गर्ने र कम्पनी नाफामा जाने विश्वास गरिएको छ ।
भारतमा हाल सञ्चालित छवटा ठूला अन्तर्राष्ट्रिय विमान सेवामध्ये एउटा मात्र नाफामा सञ्चालन भएको जनाइएको छ ।














प्रतिक्रिया