सिरिया, १८ भदौ । अमेरिकी पत्रकार स्टीभन सटलफको घाँटी रेटेर हत्या गरिएको भिडियो सार्वजनिक भएको छ।
इस्लामिक स्टेट विद्रोहीको नियन्त्रणमा रहेका अमेरिकी पत्रकार स्टीभन सटलफको टाउको काटिएको जस्तो देखिने भिडियो सार्वजनिक भएको बीबीसीले जनाएको छ।
ह्वाइट हाउसका प्रवक्ता जोस अर्नेस्टले उक्त भिडियोको आधिकारिकता पुष्टी गर्ने प्रयत्न भइरहेको बताएका छन्।
३१ वर्षीय सटलफ सन २०१३ मा सिरियामा अपहरणमा परेका थिए।
अगष्ट महिनामा अर्का अमेरिकी पत्रकार जेम्स फोलेलाई मार्ने क्रममा तयार पारेको भिडियोको अन्त्यमा सटलफलाई पनि देखाइएको थियो। पछिल्लो भिडियोमा विद्रोहीले उनीहरुको नियन्त्रणमा रहेका ब्रीटीश नागरिकलाई पनि मार्ने धम्की दिएका छन्।
सटलफको परिवारले भीडीयोबारे थाहा पाएको र आफूहरु शोकमा रहेको बताएको छ। फोलीको मृत्युपछि सटलफकी आमाले आइएस नेता अबु बकर अल बगदादीको नाममा उनको छोरा सटलफको जीवन बचाउन अपील गरेकी थिइन्।
अमेरिकाले हालै इराकका आइएस निशानाहरुमा दर्जनौं हवाइ कारवाही गरेको थियो।
अमेरिकाका लागि दोश्रो सन्देश शीर्षक दिइएको उक्त भिडियो साढे दुइ मिनेट लामो छ र मरुभूमीमा खिचिएको जस्तो देखिन्छ।
सटलफले टाइम म्यागेजिन, फरेन पोलीसी र क्रिश्चियन साइन्स मनिटरका लागि काम गरेका छन् र इजीप्ट, लीबिया र सिरियाबाट रिपोर्टिङ गरेका थिए।
सुन्तला रंगको गाउन लगाएका सटलफको साथमा कालो पोशाक लगाएको नकाबधारी मान्छे पनि देखिन्छ।
सटलफले ओबामालाई लेखिएको सन्देश पढेको ठानिएको छ। एजेन्सी














प्रतिक्रिया