काठमाडौं, १५ भदौ । सौतेनी आमाको अपहरण गरी हत्या गर्न खोजेको आरोपमा पक्राउ परेकी मोडल ऋचा धमलालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । भक्तपुर जिल्ला अदालतले बिहीबार उनीसहित ६ जनालाई कारागार चलान गर्न आदेश दिएको हो ।
सौतनी आमा ममता घिमिरे धमलालाई अपहरण गरी हत्याको प्रयास गरेको आरोपमा प्रहरीले गत १५ असारमा ऋचा, उनका प्रेमी आशमान तामाङसहित ६ जनालाई पक्राउ गरेको थियो ।
पारिवारिक तथा आर्थिक विवाद भएपछि ऋचाले १५ लाख रुपैयाँको सुपारी दिएर सौतेनी आमाको हत्या गर्न लगाएकी थिइन् । अपहरण गर्न गएका वेला दुई युवकलाई पक्राउ गरी प्रहरीले उनीहरूको योजना असफल बनाएको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ऋचा र आशमानसहित सुरेश तामाङ, शेषमान तामाङ, सुशील नापित र राजेश गुरुङ हत्या योजनामा संलग्न थिए । अपहरण गर्न गएका सुरेश र शेषमानलाई प्रहरीले ममताकै कोठाबाट पक्राउ गरेको थियो ।
दोस्रो बिहेपछि बुबाले आफ्नी आमाको हत्या गरेकाले बदला लिन सौतेनी आमाको अपहरण गरी हत्याको प्रयास गरेको ऋचाले प्रहरीसँगको बयानमा बताएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रमुख डिएसपी भीमकिरण बोगटीले बताए । प्रहरीले सुरेश र शेषमानलाई पक्राउ गरी अनुसन्धान गर्दा ऋचा र उनका प्रेमी आशमानको योजनामा हत्या प्रयास भएको खुलेको थियो ।
ऋचाले आफ्ना प्रेमी आशमानमार्फत हत्याको योजना बनाएकी थिइन् । त्यसका लागि आफू १५ लाख रुपैयाँसम्म खर्च गर्न तयार भएको उनको प्रस्ताव थियो । अस्ट्रेलियामा रहेकी उनकी दिदी लिजाले पनि त्यसका लागि सहयोग गर्ने वचन दिएकी थिइन् ।
दिदी–बहिनीको योजनापछि आशमानले ममताको हत्याका लागि सुशील नापित र राजेश गुरुङसँग सातलाखमा डिल गरेका थिए । उनीहरूले तीन लाख दिने सहमतिमा सुरेश र शेषमानलाई जिम्मा लगाएका थिए ।
१४ असारमा सुरेश र शेषमानले ममतालाई भेटी आफूहरूलाई हत्या गर्ने जिम्मेवारी दिइएकाले सहयोग गर्नुपर्ने बताएका थिए । प्रहरीलाई खबर नगर्नसमेत उनीहरूले चेतावनी दिएका थिए । १५ गते अपहरण गर्न ममताको डेरामा जाँदा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका ६ जनालाई ५५ दिनसम्म हिरासतमा राखी प्रहरीले अनुसन्धान गरेको थियो । अपहरण तथा ज्यान मार्ने उद्योग मुद्दामा संगठित अपराध मुद्दासमेत जोडेर प्रहरीले मुद्दा चलाएको छ ।














प्रतिक्रिया