२८ आश्विन २०८३, बुधबार

सात वर्षपछि मञ्चमा महजोडी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madan-krishna-hari-bansha

३४ वर्षदेखि एकसाथ दर्शकलाई हँसाउँदै आएको चर्चित हाँस्यजोडी मह (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) दर्शकमाझ स्टेजमा प्रस्तुत हुने भएका छन्। सात वर्षदेखि रंगमञ्चको हाँस्य प्रसहनमा देखिन छाडेको यो जोडीले ‘टुबोर्ग महजात्रा २०७१’ मार्फत आगामी वैशाख २६ देखि जेठ ८ गतेसम्म राजधानी स्थीत नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा दर्शकहरुलाई हँसाउनेछन्।

कार्यक्रमबारे जानकारी दिन बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले लामो समयको अन्तरालपछि दर्शकमाझ प्रस्तुत हुन लाग्दा रमाइलो भईरहेको बताए। ‘सात वर्षको अवधिमा टेलिफिल्मदेखि अन्य व्यवहारिक काममा व्यस्त भईयो,’मदनकृष्णले प्रष्ट्याए,‘तर अब हामी दर्शकमाझ प्रत्यक्ष रुपमा आउन पाउँदा खुशी लागेको छ।’ उनका अनुसार टोलीले लण्डन र अष्ट्रेलियामा भव्यताका साथ आफ्नो कार्यक्रम सम्पन्न गरिसकेको छ।

उनका जोडी वरिष्ठ हाँस्यकलाकार हरिवंशले रंगमञ्चलाई आमाको काखको संज्ञा दिँदै पुनः दर्शकमाझ स्टेजमा प्रस्तुत हुन लाग्दा खुशी लागेको बताए। उनका अनुसार जोडीले ‘नेवारबहादुर–बाहुनबहादुर’, ‘मदन फोटो स्टुडियो’, ‘सांगीतिक नाटक’ र ‘मह भजन’ प्रस्तुत गर्नेछन्। ‘महजात्रा’मा हाँस्यकलाकार शिवहरि पौड्याल, किरण केसी र राजाराम पौडेलले ‘बोर्डर चेकपोष्ट’ प्रहसन प्रस्तुत गर्नेछन्। यो प्रहसनले नेपाल र भारतीय सीमामा बस्ने नेपालीले सीमा पार गर्दा भोग्नुपरेको समस्यालाई चित्रण गर्नेछ।

त्यस्तै कार्यक्रममा गायिका मल्लिकाका कार्कीले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई मनोरञ्जन दिलाउनेछिन् भने नायक दिलिप रायमाझीले आकर्षक नृत्य प्रस्तुत गर्नेछन् । नरेन्द्र कंसाकार, बसुन्धरा भुसाल र मोहितवंश आचार्यले पनि कार्यक्रममा आफ्नो प्रस्तुति दिनेछन् । सम्मेलनमा टुबोर्ग वियर उत्पादक कम्पनी गोर्खा ब्रुअरीका बजार निर्देशक आशिष विष्टले सात वर्ष पछि फेरि मह जोडीलाई ‘टुबोर्ग महजात्रा’मा सहभागी गराउन पाएकोमा उत्साहित तथा हर्षित भएको बताए।

टुबोर्गले ‘ब्रायन एडम्स् लाइभ कन्सर्ट’, ‘कुटुम्ब प्लेईङ फर हेरिटेज’, ‘टुबोर्ग इमेज अवार्ड’, ‘टुबोर्ग दोहोरी प्रतियोगिता’, ‘टुबोर्ग म्यूजिक फिल्म फेस्टिबल’, ‘टुबोर्ग स्टेज लेट्स गेट लाउडलगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा आफ्नो सहभागिता जनाउँदै आएको छ।