काठमाडौं, ६ असोज । एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा चीनविरुद्ध टिप्पणी गरेर कूटनीतिक मर्यादा उल्लंघन गरेको आरोप लगाएका छन् ।
एमाले केन्द्रीय समितिको बुधबारदेखि सुरु बैठक उद्घाटन गर्दै उनले चीन–भारतसँगको सन्तुलित सम्बन्ध प्रधानमन्त्रीले बिगार्न खोजेको आरोपसमेत लगाए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
‘भारत भ्रमणमा गएर प्रधानमन्त्रीले छिमेकीविरुद्ध कुरा गरेर कूटनीतिक मर्यादासमेत नाघे’, ओलीले बैठकमा भने । प्रधानमन्त्रीले एमालेविरुद्ध र व्यक्तिहरूको नामै तोकेर भारतविरोधी भन्दै टिप्पणी गरेको आरोपसमेत ओलीले लगाए।
‘भारतमा गएर नेपालका पार्टीको आलोचना गर्नु लज्जास्पद हो। प्रधानमन्त्रीले त्यहाँ जाँदा एमालेलाई भारतविरोधी बिल्ला भिराउनुभयो । एमाले भारत वा चीनविरोधी होइन, एमाले छिमेकीसँग सन्तुलित सम्बन्ध राख्ने पार्टी हो’, उनले भने ।
‘सरकार परिवर्तन हुनेबित्तिकै नाटक भयो, त्यसको भोेलिपल्टै किन दुईतिरै विशेषदूत पठाउनुपर्यो, बिनाएजेन्डा । अचानक नाटकीय पाराले परराष्ट्र सम्बन्धका नाउँमा अस्वाभाविक कुरा भयो’, पूर्वप्रधानमन्त्री ओलीले बैठकमा भने, ‘एमालेले प्रधानमन्त्रीलाई भेटेर अहितमा कुनै सम्झौता नगर्नुस्, तपाईं फर्केर आएपछि प्रशंसा गर्न पाऊँ भनेकोमा ठिक उल्टो भयो ।’
प्रधानमन्त्री दाहालले नामै तोकेर कतिपय नेताहरूलाई भारतविरोधी भनी टिप्पणी गरेको आरोप ओलीले लगाए। एमालेलाई तराईविरोधी पार्टी भनेर क्षेत्रीय साम्प्रदायिक तत्वले भ्रम फैलाएको आरोपसमेत ओलीले लगाए । ‘एमाले मधेसी, जनजाति, दलित, महिला, पछाडि परेकाहरूको पार्टी हो, सिमलको भुवाजस्तो हावा आउनेबित्तिकै उड्ने पार्टी होइन’, उनले भने, ‘६७ वर्षदेखि लोकतन्त्र, जनजीविका तथा देश र जनताका पक्षमा काम गर्दै आएको पार्टी हो ।’















प्रतिक्रिया