काठमाडौं, ६ असोज । महानगरिय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल करिव ६ हप्तासम्म चल्ने एड्भान्स सेक्युरिटी कोअप्रेसन नामक तालिममा भाग लिन अमेरिका प्रस्थान गरेपछि महाशाखामा आउन एसएसपीहरुको दौडधुप शुरु भएको छ ।
खनाल एसपी प्रकाशजंग कार्कीलाई निमित्त सुम्पेर मंगलबार बेलुका अमेरिका गएका हुन् । एसएसपी खनालको सरुवा भने भएको छैन । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
प्रहरी प्रधान कार्यालयले महाशाखामा कसलाई पठाउने भन्ने बारेमा अहिलेसम्म कुनै गृहकार्य नगरेपनि केही एसएसपीहरु भने गृहमन्त्री विमलेन्द्र निधिको वरिपरि झुम्मिन थालेका छन् ।
महाशाखासँगै काठमाडौं परिसर र ललितपुर परिसरका प्रमुखको अवधि एक वर्ष पुगिसकेको छ । आइजीपी उपेन्द्रकान्त अर्याल भने दशै अगाडि प्रमुखहरु परिवर्तन गर्ने सोचमा नरहेपनि यतिखेर प्रहरी संगठनमा गृहमन्त्री हावी भएका कारण एसएसपीहरुको चलखेल बढेको हो ।
अपराध महाशाखामा आउन खराव व्यक्तिसँगको संगतका कारण बद्नाम भएका एसएसपी दिनेश अमात्य, असक्षमका रुपमा परिचित एसएसपी मनोज न्यौपाने, धिरु बस्नेत, ठाकुर ज्ञवालीलगायत चलखेलमा लागेका छन् ।
यिमध्ये अमात्य र न्यौपाने बढि चलखेलमा लागेको बताइन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका नातेदार न्यौपानेलाई आइजीपी अर्यालले काठमाडौं परिसरको प्रमुख बनाउन सक्ने संभावना रहेको स्रोतको भनाई छ । कार्कीलाई खुसी बनाउन आइजीपी अर्यालले प्रमुख बनाउन लागेको आइजीपी सचिवालयमा चर्चा छ ।
त्यसैगरी महाशाखामा आउन डन र तस्करसँग हिमचिम भएको आरोप खेप्दै आएका एसएसपी दिनेश अमात्यसँग पछिल्लो समय आइजीपी अर्याल सकारात्मक बनेको हुँदा उनले पनि महाशाखा जान दौडधुप गरेका छन् ।
आइजीपी अर्यालले सचिवालयमा रहेका एसएसपी ठाकुर ज्ञवालीलाई पनि महाशाखा पठाउने आश्वसन दिएको स्रोत बताउँछ । एसपी हुँदा पनि सचिवालयमा बसेर काम गरेका ज्ञवालीले झापा र बाराको इन्चार्ज भएर काम गरिसकेका छन् ।
एसएसपीमा बढुवा भएपछि पुनः सचिवालयमा नै काम गर्दै आएका ज्ञवाली भाग्यमानी प्रहरीमा गनिन्छन् । त्यसैगरी एसएसपी केदार रिजालले पनि महाशाखामा जान इच्छा देखाएका छन् ।
उनले यसअिघ काठमाडौं परिसरको प्रमुख भएर काम गरिसकेका छन् ।तर, महाशाखामा एसएसपी सर्वेन्द्र खनालले जस्तै काम गर्न सक्ने क्षमताका कुनै अधिकृत नभएकाले अहिले नै पठाउने विषयमा आइजीपी अर्याल अन्यौलमा रहेको बताइन्छ ।
एसएसपी खनालले अपराध र अपराधी विरुद्ध शुरु गरेको अभियानलाई निरन्तरता दिन सक्ने एसएसपी भने अहिलेसम्म आइजीपीको नजरमा परेका छैनन् ।
त्यसैगरी एसएपीद्धय पुष्पचन्द्र रञ्जित र बलराम शर्मा पौडेलले पनि पाए महाशाखा नपाए दुईमध्ये एक परिसर ताकेर बसेका छन् ।
गुण्डागर्दीविरुद्ध इन्काउन्टर अभियान, फुटबलको म्याच फिक्सिङ, कन्सलटेन्सी र मेनपावरको ठगी, पेट्रोल पम्पमा चिप्स राखेर हुँदै आएको लुट र हुण्डी कारोबारीलाई ठेगान लगाएर एसएसपी खनालले नयाँ कामको शुरुवात गरेका थिए ।
त्यस्तै व्यापारी घराना दुगडलगायतका संस्थाहरुको कालोबजारी र डन दिपक मनाङ्गेविरुद्ध कारबाही गरी चर्चा कमाएका एसएसपी विक्रमसिंह थापापनि सफल एसएसपीमा गनिन्छन् ।
राजधानीका स्कुलहरुमा बम काण्ड मच्चाउने गिरोहलाई तुरुन्तै पक्राउ गरी एसएसपी थापाले प्रहरीको नाक जोगाएका छन् ।
खनाल र थापाको जोडीका कारण उपत्यकामा अपराधका घटनाहरुको कमी आएको र अहिले त्यस्तै एसएसपीहरुको खाँचो रहेको हुँदा आइजीपी अर्यालले दबाबमा कसैलाई पठाउँछन् कि काम गर्न सक्ने सक्षम एसएसपीलाई पठाउँछन् त्यो भने केही समय पछि नै थाहा होला ।















प्रतिक्रिया